बर्दिबास नगरपालिकाका जनप्रतिनिधिहरू अख्तियारको अनुसन्धानमा किन तानिए ?
जनप्रतिनिधि भन्छन्- नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृतबाट छलकपट भयो

महोत्तरी- बर्दिबास नगर क्षेत्रका चिया र चोकहरू यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरका जनप्रतिनिधिहरूलाई बयान लिएको विषयले तातेको छ ।
पर्यटन शीर्षकमा रहेको बजेटलाई रकमान्तर गरी ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको र उक्त छुट दिने निर्णय नगर कार्यपालिका बैठक र नगरसभाबाट पास गरेको विषयको वैधानिकतालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिनदेखि उनीहरूलाई बयान लिइरहेको छ ।
नगरभरिका जनप्रतिनिधिहरूको बयान र कानुनविपरीत राजस्व जस्तो विषयमा छुट दिएको सतहमा आएपछि नगर क्षेत्रका आम मानिसहरूमा देखिएको कौतुहलतासँगै चर्चा सुरु भएको हो ।
चर्चाको विषय के हो ?
ठेक्का प्रक्रियामा नै नआई नगरलाई राजस्वमा लाखौं रुपैयाँ नोक्सान पुर्याउने ठेकेदार कम्पनी मनकामना गिट्टी, बालुवा वासिङ उद्योगलाई नगरसभा र कार्यपालिका बैठकबाट राजस्व दाखिला गरेको करिब ३५ लाख रुपैयाँ फिर्ता गर्ने निर्णयमा सहभागी हुने जनप्रतिनिधिहरू अख्तियारको अनुसन्धानमा तानिएका छन् ।
सुन्दा सामान्य लागेता पनि विषय भने अलि फरक छ । यो बुझ्नका लागि आर्थिक वर्ष २०७८/७९ मा भएको ठेक्का सम्झौताको प्रक्रियामा फर्कनु पर्छ ।
२०७८ साल मंसिर २९ गते नगरले बर्दिबासस्थित मसानघट्टमा रहेको मोडेल एग्रो भिलेज निर्माणार्थ नदीजन्य पदार्थ संकलनको क्रममा १ करोड ८८ लाख ५ सय ४२ रुपैयाँ आय अनुमान गरी ठेक्का प्रस्ताव आव्हान गरेको थियो ।
जसमा ६ वटा प्रस्ताव पेस भएकोमा ३ वटाको मात्र रित पुगेको र यसमध्ये पनि सबैभन्दा बढी रकम १ करोड ३१ लाख कवोल गरेवापत मनकामना गिट्टी बालुवा वासिङ उद्योग छनोट भएको थियो । यही क्रममा २०७८ साल पुस १७ गते नगरले प्रक्रिया पुर्याएर सम्झौता गर्न आउन उक्त कम्पनीलाई पत्राचार गर्यो ।
नियमअनुसार ठेकेदार कम्पनीले ५० प्रतिशत रकम बैंक ग्यारेन्टी गर्नुपर्ने भएता पनि ३५ लाख दाखिला गरेको प्रमाण पेस गरी बाँकी रकम पछि दाखिला गर्ने प्रतिबद्धतासहित दुई महिनापछि अर्थात माघ २ गते सम्झौताका लागि निवेदन पेस गरेको देखिन्छ ।
तर, नियमअनुसार उक्त ठेकेदार कम्पनीले ६५ लाख ५० हजार नगद दाखिला गर्नुपर्ने थियो । उक्त पैसा दाखिला नगरेपछि सम्झौता नै हुन् सकेन । परिणामस्वरूप नगरले अनुमान गरेको राजस्वमा ठेकेदार कम्पनी कै कारणले नोक्सान बेहोर्नु पर्यो भने दोश्रो कवोल गर्ने ठेकेदार कम्पनीलाई समेत ठेक्का प्रक्रियामा सहभागी गराइएन ।
खरिद नियमावलीअनुसार ठेक्का प्रक्रियामा छनोट भएर पनि सम्झौता र काम नगर्ने ठेकेदार कम्पनीलाई धरौटी जफत गरी कालोसूचीमा राख्नुपर्ने प्रावधान छ तर तत्कालीन समयमा नै कारबाही गरिनुपर्ने उक्त कम्पनीलाई किन बचावट गरियो भन्ने आम मानिसको साझा प्रश्न बनेको छ ।
किन अनुसन्धानमा तानिए जनप्रतिनिधिहरू ?
राजस्व छुटमा अन्य जनप्रतिनिधिहरूको पनि हस्ताक्षर देखिएपछि उनीहरू समेत यसको भागीदार भएका छन् । २०७९ असार ९ गते भएको नगरसभामा राजस्व छुट दिने एजेन्डा पास गराउन हस्ताक्षर गर्ने सबै जनप्रतिनिधिहरू अनुसन्धानमा तानिएका हुन् ।
धमाधम अनुसन्धानमा तानिएका जनप्रतिनिधि र त्यसभित्रको भित्री खेल भने अलि रोचक छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले बयानको लागि वडा नं.६ का वडाध्यक्ष पदमबहादुर आलेमगर र वडा नं.८ का सम्सेर सिंह लामाबाहेक सबै जनालाई बोलायो ।
दुई जना वडाध्यक्षबाहेक सबैलाई बोलाएपछि उनीहरूले अख्तियारको कार्यालयमा हाजिर हुँदासम्म पनि बुझेका थिएनन् । जब आयोगले प्रमाणसहित राजस्व छुटमा अवैधानिक बाटो अपनाएको विषयमा धमाधम बयान लिन थाल्यो तब मात्र उनीहरूले थाहा पाए ।
बयान दिने मध्येका वडा नं.५ का वडाध्यक्ष काहारमान स्याङवाले भने, `२०७९ असार ९ गते भएको नगरसभाबाट पनि पास गराइएको रहेछ उक्त ३५ लाख दिने सम्बन्धमा। यो विषयमा मलाई थाहा नै थिएन एजेन्डा पनि अगाडि सारिएको थिएन ।´
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य ध्यानाकर्षण पनि यही रहेको छ कि ३५ लाख कसरी गैरकानुनी ढंगबाट छुट गराइयो अनि पर्यटन शीर्षकमा विनियोजन गरिएको बजेटलाई रकमान्तर गरेर ठेकेदारलाई पैसा फिर्ता कसरी दिइयो ।
`हामीलाई समेत छलकपट गरेर फिर्ता गरिएको यो पैसामा मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतो हुन सक्छ,´ वडा नं ३ वडाध्यक्ष विराट बिष्टले भने, `हामीलाई थाहा नै नभएको र छलफल नभएको विषयमा कसरी स्वामित्व लिन सक्छौं ? बरू अख्तियारको अनुसन्धानलाई हामी पूर्णरूपले सहयोग गर्ने छौं ।´
स्याङवा र विष्टको जस्तै अन्य वडाध्यक्षहरूले पनि उस्तै बयान दिएको स्रोतले बताएको छ । स्रोतका अनुसार थाहा नै नभएको विषय भन्दै अध्यक्ष र जनप्रतिनिधिहरूले दोष भने नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई थोपरेका छन् ।
पर्यटन शीर्षकमा रहेको बजेटलाई आन्तरिक स्वार्थमा लिप्त हुँदा रकमान्तर गरेर उक्त पैसा दिनु पूर्णतः गैरकानुनी र मनपरी गर्न खोजेको जनप्रतिनिधिहरूले आरोप लगाएका छन् ।
हस्ताक्षरमा देखिएको सहमतिले कानुनी रूपमा उनीहरू त्यसको भागीदार देखिएका छन् तर अधिकांश जनप्रतिनिधिहरूले यस्तो एजेन्डा कहिल्यै प्रस्तुत नभएको र छलफलका लागि नल्याएको दाबी गर्दै आएका छन् ।
ठूलो छलकपट गरेर काम गरिएछ : वडाध्यक्ष
अनुसन्धानमा तानिएका सबैजसो वडाध्यक्ष र जनप्रतिनिधिहरूले नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृतबाट छलकपट भएको बताएका छन् ।
वडा नं.११ का वडाध्यक्ष गोपाल वलले एजेण्डा प्रस्ताव नभएको विषय नगरसभामा ल्याएर फसाउने काम भएको आरोप लगाए ।
आन्तरिक स्वार्थ कै कारणले उक्त रकम रकमान्तर गरी ठेकेदारलाई दिएको बताउँदै बयानमा तानिएका सबैजसो जनप्रतिनिधिहरूले राजस्व छुट दिने विषयमा चलखेल भएको दाबी गरेका छन् ।
एजेण्डामा नै नभएको विषय नगरसभामा चोरबाटोबाट घुसाइयो
एजेण्डामा नै नभएको विषय नगरसभामा चोरबाटो हुँदै पास गराइएको कार्यपालिका सदस्यहरूले बताएका छन् । नगरले जफत गर्नुपर्ने उक्त पैसा नगरप्रमुखको नजिक भएको हुनाले नै उक्त कम्पनीका मालिकलाई षडयन्त्रपूर्वक अन्य जनप्रतिनिधिहरूलाई समेत भागीदार बनाएर फिर्ता गराइएको कार्यपालिका सदस्यहरूको दाबी छ ।
२०७९ असार ९ गते नगरसभाबाट यदि पास गराए कुनै पनि कानुनी अडचन नआउने कानुनी सल्लाहकारहरूको सल्लाहमा राजस्वमाथि चलखेल भएको बुझिएको कार्यपालिका सदस्यहरूको भनाइ छ ।
के भन्छ नगरपालिका ?
बर्दिबास नगरपालिका नगर प्रवक्ता विजय महतोले छलफल भएर नै उक्त निर्णय भएको दाबी गरेका छन् ।
`वडाध्यक्षहरूले जे भनेता पनि छलफल भएको थियो उहाँहरूले थाहा पाउनु भएन होला,´ प्रवक्ता महतोले भने, `नियमानुसार नै उक्त रकम रकमान्तर गरेर पैसा फिर्ता गरिएको हो ।´
तत्कालीन नगरप्रमुख बिदुर कार्कीको पालामा नै सम्झौता प्रक्रिया अगाडि बढेको र लामो समयदेखि कारबाही गरेर पनि पाउनु पर्ने पैसा रोकिएको हुनाले नगरसभाबाट नै पास गरिएको उनको भनाइ छ ।
स्थानीय सरकार संचालन ऐन तथा नियममा पनि आवश्यकताअनुसार रकमान्तर गर्न सकिने प्रावधान रहेको नगर प्रवक्ता महतोको जिकिर छ ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया