लडाइँबाट भाग्दै गर्दा सुडानमा २५ जनाको डुबेर मृत्यु

पोर्ट सुडान (सुडान)- सुडानको दक्षिणपूर्वमा सुडानी सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५ जनाको डुबेर मृत्यु भएको प्रजातन्त्र समर्थक कार्यकर्ताहरूको एक समितिले बिहीबार बताएको छ ।
“दक्षिणपूर्वी राज्य सेन्नारमा ब्लु नाइल नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा करिब २५ नागरिकको मृत्यु भएको छ, मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्”, स्थानीय प्रतिरोध समितिले विज्ञप्तिमा भनेको छ ।
गत वर्ष सेना र अर्धसैनिक र्यापिड फोर्स (आरएसएफ) बीच युद्ध सुरु भएपछि प्रजातन्त्र समर्थक प्रदर्शनहरू आयोजना गर्ने र अग्रपङ्क्तिमा सहायता समन्वय गर्ने सुडानभरका सयौँ समितिमध्ये उक्त समिति एक थियो ।
सेन्नारमार्फत आरएसएफको भर्खरैको प्रगतिबाट भाग्दै गर्दा भएको दुर्घटनामा ‘सम्पूर्ण परिवारको मृत्यु’ भएको समितिले बताएको छ ।
पाँच लाखभन्दा धेरैले युद्धबाट बच्नका लागि शरण लिएको सेन्नार राज्यको राजधानी सिन्जामा शनिबार सैन्य आधार कब्जा गरेको आरएसएफले घोषणा गरेको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार आरएसएफले छिमेकी गाउँहरूमा घुसपैठ गरेर त्यहाँका बासिन्दाहरूलाई नाइल नदीपारि काठको सानो डुङ्गाहरूमा भाग्न बाध्य बनाएको थियो । संयुक्त राष्ट्रसङ्घले सोमबार तीन दिनभित्र सिन्जाबाट मात्र कम्तिमा ५५ हजार मानिस भागेको बताएको थियो ।
छिमेकी राज्य गेडारेफमा यसै साता करिब एक लाख २० हजार विस्थापित मानिस आएको स्थानीय अधिकारीहरूले बिहीबार अनुमान गरेका छन् । राज्यका स्वास्थ्यमन्त्री अहमद अल–अमिन एडमले ९० हजार विस्थापितहरूको आधिकारिकरूपमा दर्ता गरिएको बताए ।
हाल सम्पूर्ण सुडानमा एक करोडभन्दा बढी मानिस विस्थापित भएका छन् । यसलाई राष्ट्रसङ्घले विश्वको सबैभन्दा खराब विस्थापन सङ्कट भनेको छ ।
सेना प्रमुख अब्देल फतह अल–बुरहानका बफादार सेना र उहाँका पूर्वडेपुटी मोहम्मद हमदान डागलोको नेतृत्वमा रहेको आरएसएफबीच लडाइँ सुरु भएपछि सन् २०२३ अप्रिलदेखि सडान युद्धको चपेटामा छ ।
सुडानमा संयुक्त राज्य अमेरिकाका राजदूत टम पेरिएलोका अनुसार चार करोड ८० लाख जनसङ्ख्या भएको सुडानमा द्वन्द्वले हजारौँ मानिसको ज्यान लिएको छ । केही अनुमानअनुसार मृतकको सङ्ख्या एक लाख ५० हजारसम्म पुगेको छ । (एएफपी)

गहुँ र मकै सखाप पारेर मान्छे पनि मार्न सक्ने खतरनाक भाइरस फ्युसेरियम, चीनले …
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय

जित उत्सव मनाउँदा विराट कोहलीको फ्यानको अत्याधिक खुसीले मृत्यु

तीन महिनामा दुई लाखभन्दा बढी अफगानी पाकिस्तानबाट फिर्ता

इजरायली आक्रमणपछि गाजाका अमेरिकी सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द

गाजामा २०० पत्रकार तथा मिडियाकर्मीको मृत्यु : इएफजे

जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने

प्रतिक्रिया