आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

बकैया गाउँपालिकाद्वारा एसईईको झुठो विवरण सार्वजनिक, दुई भनेकोमा ४ विद्यालय नील

हेटौँडा- मकवानपुरको बकैया गाउँपालिकाले एसईई २०८० को नतिजा सम्बन्धी झुठो विवरण सार्वजनिक गरेको खुलासा भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तथ्यलाई लुकाएर भ्रामक जानकारी दिएको पाइएको हो ।

पालिकाले सार्वजनिक गरेको विवरणमा ४०४ विद्यार्थीले परीक्षा दिएको, ५२ जना उत्तीर्ण भएको र २ विद्यालय नील गएको उल्लेख गरिएको थियो। तर वास्तविक तथ्याङ्क अनुसार ४०३ विद्यार्थीले परीक्षा दिएको, ४६ जना मात्र उत्तीर्ण भएको र ४ विद्यालय नील गएको शिक्षा समन्वय इकाई हेटौंडाले जनाएको छ ।

गाउँपालिकाभित्रका ११ विद्यालयमध्ये ४ वटा विद्यालयमा सबै विद्यार्थी अनुत्तीर्ण भएका छन् । यो तथ्यलाई लुकाएर पालिकाले २ विद्यालय मात्र नील गएको भनी झुटो जानकारी दिएको पाइएको छ ।

बकैया गाउँपालिकाको शिक्षा शाखाका प्रमुख आइतराम तामाङले स्पष्टीकरण दिँदै भने, 'कालिका माविमा गत वर्ष असफल भएका एक पूरक परीक्षार्थी यस पटक उत्तीर्ण भए पनि नियमिततर्फ भने एकजना पनि विद्यार्थी उत्तीर्ण नभएको हो ।'

उनका अनुसार, कालिका माविका प्रधानाध्यापकले कुल १७ जना मध्ये १६ जना नियमिततर्फ र १ जना पूरक परीक्षार्थी रहेको र पूरकतर्फका परीक्षार्थी मात्रै उत्तीर्ण भएको जानकारी गराए पनि विवरण तयार पार्नेले नबुझ्दा एक जना उत्तीर्ण भएको भन्ने भ्रम सिर्जना भएको थियो ।