पाकेन सत्ताको खिचडी
सबै दलहरूले ठूला मन्त्रालयमा दाबेदारी नछाड्दा अवरुद्ध मन्त्रिपरिषद् विस्तार

पोखरा : मन्त्रालय भागभन्डाको किचलोमा फसेको गण्डकीको सत्तारुढ गठबन्धनभित्र अझै सहमति जुट्न सकेको छैन । दलहरूले ठूला मन्त्रालयमा दाबी गर्दा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मन्त्रिपरिषद् पूर्ण तुल्याउन सकस पैदा भएको छ ।
मुख्यमन्त्री पोखरेलसहित कांग्रेस, माओवादी र जनता समाजवादी सहभागी सोमबारको बैठकले पनि निकास दिन नसकेको हो । दलहरूले आ–आफ्नो अडान नछाड्दा ४ दलीय गठबन्धनमा चरम किचलो देखिएको छ । सोमबार बेलुका साढे २ घन्टा बसेको बैठकमा पनि कुनै निष्कर्ष निस्कन नसकेको मन्त्री हरिशरण आचार्यले बताए ।
कांग्रेस, माओवादीले सहमतिविपरीत चल्न खोजेकाले समस्या आएको र आफूहरू ‘ललिपप’मा नफस्ने आचार्य बताउँछन् । बैठकमा जनता समाजवादीको तर्फबाट आचार्यसहित प्रदेश अध्ययक्ष र इन्चार्ज पनि सहभागी थिए । ‘साढे २ घन्टाको बैठकले निष्कर्ष दिन सकेन, लिखित सहमति गरेपछि मान्नुपर्छ, फकाएर, ललिपप दिएर मान्ने केटाकेटी होइनौं,’ आचार्यले भने ।
कांग्रेस, माओवादीले आफूहरूलाई सानो पार्टी भनेर हेपेको आचार्यको भनाइ छ । प्रदेशसभामा कांग्रेसको १५, माओवादीका १२ र जसपाका २ सांसद छन् । कांग्रेस, माओवादीले पेलेर जाने नियत देखाएको आचार्यले बताए । ‘हामीमाथि राजनीतिक बेइमानी हुन लागेको छ, तर कांग्रेसले यस्तो गर्ने अवसर पटकपटक पाउँदैन । इतिहासमा झलझली याद रहनेछ, भविष्यमा देखाउँछौं,’ आचार्यले भने ।
सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्का भने सोमबारको बैठक सकारात्मक रहेको र मंगलबार एउटा निष्कर्ष निस्कने बताउँछन् । उनका अनुसार जसपा प्रदेश कमिटी कांग्रेस, माओवादीको अनुरोधमा लचक बनेको छ । बैठकमा जसपालाई पुनर्विचार गर्न आग्रह गरेको र प्रदेश कमिटी बैठकले निर्णय दिने निष्कर्ष निस्केको छ । ‘हामीले पुनर्विचार गर्न अनुरोध गर्यौं, सौहार्द छलफल भयो, मंगलबारसम्म सकारात्मक निष्कर्ष आउला,’ खड्काले भने ।
जसपासँग लिखित सहमति गरिएपनि अर्थ मन्त्रालय दिन नसकिने पक्षमा कांग्रेस-माओवादी छ । प्राकृतिक न्यायको सिद्धान्त अनुसार ठूलोले ठूलो रोज्न पाउनुपर्ने कांग्रेस, माओवादीको अडान छ । ‘प्राकृतिक न्यायको सिद्धान्तबाट छनोट गर्ने मोडालिटी अनुसार मन्त्रालय छनौट गर्ने योजना हो,’ मन्त्री खड्काले बताए ।
अर्थ कांग्रेस आफैंले र भौतिक पूर्वाधार माओवादीले लिने दुई दलको मौखिक सहमति छ । तर भौतिकमा स्वतन्त्र सांसद दीपक मनाङेको पनि दाबी छ । बाढी, पहिरोले क्षति पुर्याएका ठाउँमा आफूले पुननिर्माण, राहतका काममा लाग्नुपर्ने भएकाले आफूले भौतिक रोजेको मनाङे बताउँछन् । ‘पहिला आन्तरिक लिउँ कि भन्ने थियो, तर बाढी पहिरोले प्रदेशभर क्षति गरेपछि त्यस ठाउँमा मेरो खाँचो छ,’ मनाङेले भने ।
मनाङेले सपथ लिएकै दिन पनि इन्जिनियरहरूलाई ‘सिस्टम’मा बसाउनेदेखि पूर्वाधारका कामलाई बढाउने अभिव्यक्ति दिएका थिए । तर सरकारका प्रवक्ता खड्का भने अर्थ कांग्रेसले लिए भौतिक स्वतः माओवादीले लिने बताउँछन् । ‘कांग्रेसले अर्थ राखे भौतिक स्वतः माओवादीको हुन्छ, पहिला ठूला दलका हिसाबले कांग्रेस, माओवादीले मन्त्रालय रोज्छौं,’ खड्काले भने ।
माओवादी सांसद रामजी बराल पनि न्यायिक व्यवस्थापन गर्दा माओवादीले भौतिक मन्त्रालय पाउने दाबी गर्छन् । साना दलले ठूला मन्त्रालयमा दाबी गर्नु स्वाभाविक भएको तर व्यवस्थापनका बेला भौतिक माओवादीले नै पाउने बरालले बताए । ‘दावा गर्न पाइन्छ, अधिकारको कुरा भयो, तर विवेकपूर्ण व्यवस्थापन गर्दा कांग्रेसले अर्थ, माओवादीले भौतिक पाउँछौं,’ उनले भने । बराललाई माओवादीले सरकारमा पठाउने चर्चा छ ।
नयाँ गठबन्धनले प्रतिगामी सरकारविरुद्ध मोर्चाबन्दी गर्दा सरकारको चाबी हातमा आएकाले लोभमा पर्न नुहने बरालको तर्क छ । ‘उद्देश्य सरकारमा जाने थिएन, राजनीतिक विचार, निष्ठाको आन्दोलन थियो, त्यो निष्ठा मन्त्रालयका लागि त्यागिदिने ?’ बराको प्रश्न छ ।
मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका हरिशरण आचार्यसँग विश्वासको मत लिने दिन ४ असारमा ३ बुँदे लिखित सहमति गरेको सार्वजनिक भएको थियो । त्यस सहमतिपछि गठबन्धनमा किचलो आएको हो । ३ बुँदे सहमतिमा अर्थ मन्त्रालयसहित २ मन्त्रालय जनता समाजवादीले पाउनुपर्ने, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने र दलीय मान्यता पाउन १० प्रतिशतको व्यवस्था हटाउनुपर्ने बुँदा छन् ।
मुख्यमन्त्री नियुक्त भएपछि कृष्णचन्द्र पोखरेलले आफूसँगै ४ जनालाई मन्त्री बनाएर सपथ दिलाए । कांग्रेसबाट कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेलाई विनाविभागीय मन्त्री बनाए । तर यतिका दिनसम्म पनि पोखरेलले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । बनाएका मन्त्रीलाई पनि जिम्मेवारी तोक्न सकेका छैनन् ।
विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मनसाय बनाएर मुख्यमन्त्री बनेको ७ दिनमै पोखरेलले विश्वासको मत लिएका थिए । ४ दलीय गठबन्धनमा मन्त्रीका आकांक्षी धेरै हुँदा मन्त्रिपरिषद विस्तार गर्न असहज भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले यस सरकार खिचडी सरकार भएको बताउँदै लामो समय गठबन्धन नटिक्ने दाबी गर्दै आएको छ । ४ असारको बैठकमा एमाले सांसदहरूले सरकारलाई खिचडीको संज्ञा दिएका थिए । अझै यो किचलो लामो जाने देखिन्छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया