मधेश प्रदेश लोकसेवा आयोग पदाधिकारीविहीन

जनकपुरधाम- मधेश प्रदेश लोकसेवा आयोग लामो समयदेखि पदाधिकारीविहीन भएको छ ।
आयोगमा पदाधिकारी नहुँदा उद्देश्य तथा लक्ष्य अनुरुप काम गर्न नसकेको र कर्मचारी भर्ना एवं नियुक्तिलगायत काम ठप्प भएको छ । मधेश प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा सदस्य पद रिक्त रहेकाले सबै कार्य ठप्प भएको कर्मचारीहरूको भनाइ छ ।
आयोगमा तीन सदस्यीय पदाधिकारी प्रदेश सरकारले नियुक्त गर्ने व्यवस्था छ । त्यसमध्ये एक जना सदस्य डा सुजाता देव मात्र कार्यरत छन् । आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्रप्रसाद यादव तथा सदस्य महारुद्र झा उमेर हदका कारण छ महिना अगाडि पदमुक्त भएपछि आयोग पदाधिकारीविहीन भएको हो ।
आयोगमा पदाधिकारी मात्र होइन विसं २०८० मङ्सिर २१ गतेबाट सचिव पद पनि रिक्त छ । तत्कालीन सचिव नरेशराज खरेलको अन्यत्र सरुवा भएपछि नयाँ सचिव नआएको आयोग कार्यालयले जनाएको छ । पदाधिकारी र सचिव नहुँदा साउन १ गते आयोगले सार्वजनिक गर्ने कर्मचारी भर्नासम्बन्धी वार्षिक क्यालेण्डर प्रकाशन गर्न सकेको छैन ।
अध्यक्ष, सदस्य तथा सचिव नहुँदा नियमित प्रशासनिक कामबाहेक अन्य काम ठप्प भएको आयोगका प्रवक्ता तथा उपसचिव गणेश गुञ्जन झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार अन्तर्वार्ता लिइएको उम्मेदवारको नतिजा सार्वजनिक, सिफारिस, विज्ञापन गरिएका लिखित परीक्षा, सम्बन्धित निकायसँग रिक्त रहेको दरबन्दी माग तथा विज्ञापन निकाल्नेलगायत काम अघि बढ्न नसकेको हो ।
आयोगकी एक मात्र सदस्य डा देवका अनुसार दुई जना पदाधिकारी भएमा मात्र निर्णय गर्नसक्ने कानुनी व्यवस्थाअनुसार आफू एक्लैले केही गर्न नसक्ने बताए । मधेश प्रदेश सरकारलाई आयोगमा पदाधिकारी नियुक्तिका लागि पटकपटक लिखित तथा मौखिक जानकारी गराउँदा कुनै सुनुवाइ नभएको उनले बताए ।
लोकसेवा आयोग स्थापनाको पाँच वर्षमा हालसम्म विभिन्न एक हजार २२ पदको विज्ञापन आयोगले गरेको छ । जसमा कर्मचारी बढुवातर्फ तीन सय ७६ जना सिफारिस भएका छन् । खुलातर्फ छ सय ४६ जना कर्मचारी माग गरिएकोमा सबै प्रक्रिया पुरा गरेर छनोट भएका एक सय ८५ मात्र सिफारिस गर्न सकेको आयोगले जनाएको छ ।
प्रवक्ता झाका अनुसार आव २०७९/८० मा खुला विज्ञापनमार्फत बढुवा र खुला गरी उपसचिव नवौंदेखि सहायक चौथो तहमा दुई सय कर्मचारी पदपूर्ति गर्नुपर्ने आयोगको लक्ष्य रहेको थियो । आव २०८०/८१ मा एक सय १७ कर्मचारी भर्ना गर्नुपर्ने भए पनि आयोगले पदपूर्ति गर्न सकेको छैन । आव २०७९/८० मा नवौँ तह उपसचिवमा बढुवाका लागि गरेको ११ पदका विज्ञापनमा प्रक्रिया पु-याएर तीन जना सिफारिस भइसकेका छन् भने आठ जनाको सिफारिस बाँकी रहेको छ ।
तत्कालीन मुख्यमन्त्री लालबावु राउतको कार्यकालमा प्रदेश लोकसेवा आयोग २०७६ भदौ ४ गते गठन भएको थियो ।

दही र महीको माग बढ्दै

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

प्रतिक्रिया