आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको निर्मम हत्या

सर्लाही - सर्लाहीमा अज्ञात समूहद्वारा पूर्व राज्यमन्त्री रामचन्द्र रायको निर्मम हत्या भएको छ। ८० वर्षीय रायलाई गएराति चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो।

प्रहरीका अनुसार, रायको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा उनी मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार, घटनास्थलमा तत्कालै प्रहरी टोली पुगेको र थप अनुसन्धान भइरहेको छ।

राय ३० वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनी अहिले पनि राप्रपामै आबद्ध थिए। रायको शव मुचुल्का उठाएर पोष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा पठाइएको छ।

हत्या भएको रातमा रायका पत्नी र छोरा–बुहारी काठमाडौँमा थिए भने रायसँग घरमा बस्ने एक जना मात्र कामदार रहेका थिए। डीएसपी श्रेष्ठले भने, 'उहाँ केही दिनअघि मात्रै घर आएका थिए। हत्याको कारण खुल्न सकेको छैन।'

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी यज्ञ विनोद पोखरेल नेतृत्वको टोली पनि घटनास्थलमा पुगेको छ। घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म पक्राउ गरिएको छैन भने तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले अनुसन्धानलाई अगाडि बढाइरहेको छ।