काठमाडौँको ढलमा पोलियो भेटिएपछि बालबालिकालाई पोलियो खुवाउने महानगरको योजना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै घरमा पुगेर ५ वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने योजना बनाएको छ । यो विशेष पोलियो खोप अभियान हो । अभियान साउन ९ गते सुरु हुनेछ । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन अनुरोध गरिएको छ ।
पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन - ओपीभी) खुवाइन्छ । यस्तै १४ हप्ता र ९ महिनाको उमेरमा सुईबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन - आइपीभी) दिइन्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर छन् । यी घरहरूमा ५ वर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको अनुमान गरिएको छ ।
विभागको तथ्याङ्कमा वडागत रुपमा हेर्दा सबैभन्दा धेरै वडा नं. ६ मा ६ हजार १२ जना बालबालिका छन् । सबैभन्दा कम वडा नं. १ मा ४६२ जना छन् ।
यो खोप जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाका लागि हो । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीसहितको टोली घर घरमा गएर पोलियो थोपा खुवाउनेछ ।
विशेष अभियान किन ?
नेपालमा सन् २०१० पछि व्यक्तिमा पोलियोको भाइरस देखिएको छैन । श्रेष्ठ भन्छन्, ‘पोलियो उन्मुलन रणनीतिअनुरुप सन् २०१७ देखि वातावरणीय निगरानी भइरहेको थियो । उपत्यकाका विभिन्न ५ ठाउँको ढलबाट महिनाको २ पटक नमूना लिएर पोलियोको भाइरस भए नभएको हेर्ने गरिन्थ्यो । यही क्रममा सन् २०२४ (२०८१ जेठ १३ गते) काठमाडौँको टुकुचा र बागमती दोभानमा वागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको पानी) लिइएको नमूनामा डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटियो । यसको रिपोर्ट २०८१ असार २९ गते आएको थियो । प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको हो ।’ उनका अनुसार यही ठाउँमा जेठ २२ गते पनि नमूना लिइएको थियो । यसमा भने भाइरस देखिएन ।
यसका अनेक कारण हुन सक्छन् । यसको अध्ययन भइरहेको श्रेष्ठको भनाइ छ ।
प्रयोगशाला परीक्षणको नतिजाअनुसार सो पोलियो भाइरस पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ । पोलियो मुक्त देश घोषणा भएको २० वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनुले चिन्ता उब्जाएको छ ।
वातावरणीय निगरानीका लागि काठमाडौँ उपत्यका बाहिर विराटनगर, जनकपुर र पोखराका एक एक ठाउँबाट महिनाको १ पटक नमूना लिने गरिएको छ । नेपालमा पोलियो उन्मुलन रणनीति २०२२–२०२६ का कार्यक्रम सञ्चालन भइरहेका छन् । सन् २०१० बाट व्यक्तिमा पोलियो नदेखिएपछि सन् २०१४ मा पोलियो मुक्त देश घोषणा गरिएको थियो ।
बालबालिकाहरूका अति शीघ्र लुलो पक्षघातका लक्षण देखिए तत्काल खबर गर्न महानगरपालिकाले अनुरोध गरेको छ । यसमा बालबालिकाका कुनै पनि अङ्ग तत्कालै लुलो हुने, एक भाग नचल्ने जस्ता लक्षण हुन्छन् । पोलियोको असर ५ वर्षमुनिका बालबालिकामा धेरै हुन्छ । यस्ता लक्षण १५ वर्ष उमेरसम्मका बालबालिकालाई हुन सक्ने, विभागले बताएको छ ।
पोलियो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । ५ वर्षमुनिका बालबालिका सबैभन्दा धेरै जोखिममा हुन्छन् । पोलियोको भाइरस दूषित खाना र दूषित पानीबाट सर्छ । यसकारण खाना र पानीको सफाइसँगै वातावरणीय स्वच्छतामा ध्यान दिन आवश्यक छ ।
पहिलो खोप बच्चा जन्मिने बित्तिकै बिसीजी खोप लगाइन्छ । दोस्रो खोप ६ हप्तामा रोटा, पोलियो, पीसीभी, डीपीटी, हेब बी-हिब खोप दिइन्छ । तेस्रो खोप जन्मेको १० महिनामा दिइन्छ । यसमा ६ महिनामा दिइएको खोपको दोस्रो मात्रा दिइन्छ । चौधौँ हप्तामा चौथो खोप दिइन्छ । यसमा पोलियो, एफआइपीभी, डीपीटी र हेब वी-हिब खोप लगाइन्छ । ९ महिनामा पाँचौँ खोप लगाइन्छ । यसमा एफआइपीभी, पीसीभी र रुवेला दादुरा खोप लगाइन्छ । १२ महिनामा छैटौँ पटक खोप दिइन्छ ।
यस पटक दिइने खोप जापानीज इन्सेफालाइटिस हो । १५ महिनामा सातौँ खोप दिइन्छ । यो खोप रुवेला दादुराको दोस्रो मात्रा हो । यसैबेला टाइफाइडको खोप पनि लगाइन्छ ।

प्लास्टिकको बोतलमा पानी पिउनेहरुलाई हृदयाघातको जोखिम अधिक

लामखुट्टे भगाउने मेसिनले बनाउन सक्छ तपाईंलाई बिरामी

कलेजो बलियो बनाउन खानुहोस् यी पाँच आयुर्वेदिक औषधि

रगतको नमूना नलिई पनि रगत परीक्षण गर्न सकिने, मूल्य २४० रूपैयाँसम्म पर्ने

मलेरियाको लामखुट्टेले यो समयमा सबैभन्दा बढी टोक्छ ?

स्थानीय औलो शून्य, आयातितको जोखिम

चाँगुनारायण अस्पतालमा सेवा विस्तार, थाइराइडदेखि के-के हुन्छ परीक्षण ?

प्रतिक्रिया