हक्की स्वभावका मुख्यमन्त्री ‘लामा’

बागमती- नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा(तामाङ) बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा विसं २०२७ कात्तिक ८ गते जन्मिएका नवनियुक्त मुख्यमन्त्री लामा बागमती प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन् । स्व दीपबहादुर लामा तामाङ र स्व पूर्णिमाया लामा तामाङको सन्तान बहादुरसिंह कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै मूल पार्टीको राजनीतिमा होमिएका नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य हुन् ।
सामान्य परिवारमा जन्मिएका लामा गाउँकै विद्यालयबाट आधारभूत शिक्षा हासिल गरी नुवाकोटको सदरमुकाम विदुरस्थित माध्यमिक विद्यालयबाट प्रवेशिका तथा काठमाडौँको शङ्करदेव क्याम्पसबाट स्नातकसम्मको उच्च शिक्षा हासिल गरेका छन् ।
सानैदेखि अब्बल र हक्की स्वभावका लामा विसं २०४३ मा नेविसङ्घको शङ्करदेव क्याम्पस इकाइ सभापति र २०४५ सालमा नेविसङ्घको क्षेत्रीय सभापति भएका लामा त्यसपछि नेपाली कांग्रेस नुवाकोटका जिल्ला उपसभापति भएका थिए ।
निरन्तर राजनीतिमा सक्रिय रही जनतामाझ लोकप्रिय बहादुरसिंह २०५४ सालको स्थानीय निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।
गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट पराजित उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तत्कालीन महासचिव पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
गत २०७४ सालमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य भएका बहादुरसिंह २०७९ सालको प्रदेशसभा निर्वाचनमा नुवाकोटबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । कांग्रेस संसदीय दलका नेता उनी मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए ।
निर्माण व्यवसायीका रूपमा समेत परिचित बहादुरसिंह तामाङ समुदायबाट पहिलो र एक्लो मुख्यमन्त्री बन्न सफल भएका छन् ।

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः उपप्रमुख डंगोल

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

प्रतिक्रिया