आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

हिंसात्मक लुक्समा हरिहर अधिकारी :'ह्रस्व दीर्घ'को नयाँ पोस्टरले सिनेप्रेमीलाई तान्यो !

काठमाडौँ- आगामी असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य अभिनेता हरिहर अधिकारी ‘एंग्री योङम्यान’को अवतारमा प्रस्तुत भएका छन्। रगताम्मे देखिने उनको शरीरहेर्दा फिल्ममा उनको चरित्रको हिंसात्मक पक्षलाई झल्काउँछ।

हरिहरसँगै पोस्टरमा बलिउडका चर्चित अभिनेता प्रशान्त ताम्राकार, 'गजनी' का भिलेन प्रदीप रावत, 'पुष्पा' का भिलेन सुनिल वर्मा र साउथ अभिनेता कबीर दुहन सिंह पनि देखिएका छन्।

उनीहरूको आँखामा प्रकट भएको रिसको ज्वालाले फिल्मको थ्रिलर पक्षलाई थप आकर्षक बनाएको छ। विशेषगरी, सुनिल वर्माको लुक्सले ‘पुष्पा’ को झल्को दिन्छ भने, प्रदीप पण्डितको अवतारमा देखिएका छन्।

चन्द्र पन्तको डेब्यु निर्देशनमा बनेको यो फिल्ममा नीता ढुंगाना, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा, रवीन्द्र झा, नरेन खड्का, र आदर्श मिश्रको पनि अभिनय रहेको छ। फिल्ममा करीब १३ वर्षपछि विपना थापाको कमब्याक पनि समेटिएको छ। नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यस फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी रहेका छन्।

हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त, र हरिहरकै पटकथा तथा संवाद समेटिएको फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन्, जसले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता थुप्रै हिन्दी फिल्म खिचेका छन्। नेपाली, तेलुगु, र हिन्दी गरी तीन भाषामा रिलिज हुने यस फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ।