सडकमा छरपष्ट निर्माण सामग्रीबाट हैरान स्थानीय र व्यापारी
काठमाडौँ महानगर भन्छ- ठेकेदार कम्पनीले फुटपाथ निर्माण गर्न ढिला गर्यो

काठमाडौँ- पाटन उच्च अदालतको आदेशपछि काठमाडौँ महानगरपालिकाले वडा नम्बर २४ मा फुटपाथ बढाउन न्युरोडबाट सुरु गर्यो । लगत्तै फुटपाथ बढाउन महानगर पनि अदालतको आदेश लिएर सडकमा डोजर लिएर निस्कियो ।
अहिले भने फुटपाथको काम अगाडि बढ्न सकेको छैन । वडा नम्बर २२ मा भने मङ्सिर २ गतेसम्म फुटपाथ बढाउन नपाइने गरी महानगरले जनप्रतिनिधि र स्थानीयवासीसँग सम्झौता गरिसकेको छ ।
केही समयअघि महानगरले विस्तार गरेको फुटपाथ सडक विभागले पुरेपछि लगत्तै महानगर विभागविरुद्ध उच्च अदालत पाटन पुगेको थियो । जनप्रतिनिधि र स्थानीयको अवरोधका बाबजुद पनि महानगरले २४ नम्बर वडामा भने फुटपाथ अघि बढाउने तयारी गरिसकेको छ ।
फुटपाथ बनाउन ल्याइएका सामग्रीले सडक अवरोध गरेको भन्दै न्युरोडका व्यापारी तथा स्थानीयवासीले गुनासो गर्न थालेका छन् । फुटपाथ विस्तारका लागि ल्याइएका सामग्री, सडक कुनामा राखिएको डोजरले पसलमा आउने ग्राहकलाई समेत असहज हुने गरेको व्यापारीहरूको गुनासो छ । यस्तै फुटपाथ अलपत्र छाडिनाले न्युरोडको सौन्दर्यतामा समेत ह्रास आउन थालेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।
कामको गति सुस्त भएकाले फुटपाथ बनाउने जिम्मा पाएको ठेकेदार कम्पनीले नै महानगरलाई बेवास्ता गर्न थालेको जस्तो देखिन्छ । कम्पनीको बेवास्ताका कारण फुटपाथ तयार गर्न ल्याइएका सामग्री यत्रतत्र छरिएका छन् ।
कहिले विरोध र कहिले झगडाकै कारण न्युरोडको पहिचान हराउन लागेको भन्दै केही व्यवसायीले आपत्तिसमेत जनाएका छन् । स्थानीय व्यापारी राम महर्जनले फुटपाथ निर्माणका लागि ल्याइएका सामग्रीले पसलमा आवतजावत गर्न गाह्रो भएको गुनासो गरे ।
'फुटपाथ निर्माण गर्न सामग्री ल्याएको एक हप्ताभन्दा बढी भइसक्यो । फुटपाथ निर्माणमा मानिस काम गरेको देखिँदैन,' उनले भने ।
सामग्री झारेपछि समयमा काम गरेर व्यापारी तथा स्थानीयवासीलाई आवतजावतमा सहज हुने महर्जनको भनाइ छ । विकास निर्माणको काम थालिसकेपछि सम्पन्न गरिहालेमा सहरको सौन्दर्यता बढ्नेमा उनको विश्वास छ ।
'सिमेन्टका ब्लक र कालो पाइप पसल अगाडि थुपारिएको छ । पाइप र ब्लक हेरेर बस्नुपरेको छ,' उनले भने, 'ग्राहकहरू पाइपमा ठोक्किएर लड्ने हो कि भन्ने त्रास बढिसक्यो । महानगर वा निर्माण कम्पनीले कामलाई सम्पन्न गर्न तीव्र रूपमा कामलाई अगाडि बढाइनुपर्छ ।'
फुटपाथ बढाए पनि व्यापारीलाई केही असर नगर्ने उनको भनाइ छ । महानगरले अहिले फुटपाथ बढाउने भनिएको ठाउँ एक वर्षदेखि खाली छ । यसभन्दा अघि मोटरसाइकल पार्किङ थियो ।
'पार्किङ गर्न आउनेहरू सबै ग्राहक हुन सक्छन् भन्ने प्रमाण छैन,' महर्जनले थपे, 'पार्किङ गरेर कोही घुम्न र विभिन्न रेष्टुरेण्टमा खान आउने हुन्छन् । कसैलाई पार्किङ नगर भन्न मिल्दैन ।'
त्यसैगरी, अर्का सुनचाँदी व्यवसायीको गुनासो पनि महर्जनको जस्तै छ । फुटपाथ बढाउन महानगरले जति चासो लियो तर त्यसलाई फिनिसिङ्ग गर्न चासो नदिएको ती व्यवसायीले इकागजसँग गुनासो गरे ।
'सडकको छेउछाउमा निर्माण सामग्री राखिएको छ,' उनी भन्छन्, 'पसलको अगाडि पाइप र ब्लक राखिएको छ । अगाडि के-के न गर्न राखे जस्तो गरिएको छ निर्माण हुन्छ न प्रक्रिया नै अगाडि बढ्छ ।'
ग्राहकहरूले फुटपाथ निर्माणका लागि ल्याइएका सामग्रीले यताउता हिँड्न अवरोध गरेको गुनासो गर्न थालेको उनले बताए ।
महानगरले भने न्युरोडको फुटपाथ विस्तार आयोजनाको नामकरण गरेको छ । फुटपाथ निर्माण गर्ने काम आरोग्य-साइटेक जे.भीले जिम्मेवारी पाएको छ । २ करोड १८ लाख १६ हजार ९ सय रुपैयाँमा महानगरले वडा २४ र २२ को फुटपाथ निर्माणको ठेक्का लगाइसकेको छ । कम्पनीले २०८१ चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।
तर, काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले भने न्युरोडको फुटपाथ विस्तार कार्यले तीव्रता पाउने बताए । महानगरले फुटपाथ निर्माण सुरु भएको ठाउँमा काम अगाडि बढाइसकेको उनको जिकिर छ ।
उनले महानगरले फुटपाथ निर्माण गर्न ठेक्का लगाएर कम्पनीलाई जिम्मा दिइसकेको छ । ठेकेदार कम्पनीले फुटपाथ निर्माणमा केही दिन मात्र ढिला गरेको हुन सक्ने उनले बताए ।
'हामीले सामग्री अलपत्र पारेको यस विषयमा ठेकेदार कम्पनीलाई बुझाउने छौं,' उनी भन्छन् ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया