शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

किन खनिँदैछन् सर्वोच्चसँग प्रधानमन्त्रीका सल्लाहकार ?

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा केही दिनयता सामाजिक सन्जालमा सर्वोच्‍च अदालतप्रति खनिएका छन् । सर्वोच्‍चले  ओली सरकारका निर्णयविरुद्ध आदेश दिएपछि थापा खनिएका हुन् ।

असार ८ गते प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्रीहरूलाई काम नगर्न भन्दै अन्तरिम आदेश दियो । त्यसलगत्तै थापाले ट्‍वीटरमार्फत रोष प्रकट गरे । 'प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु ? माधव-रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु ? यो के भएछ ?'

थापाले प्रश्‍न गरे 'देउवालाई २०७४ अधिकार थियो, अहिले ओलीलाई छैन ? प्रतिष्ठा कायम रहोस्,बस ! मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकै हो र ?'

 

थापा यतिकैमा रोकिएनन् । संविधान र कानुनको व्याख्यामाथि प्रश्‍न उठाए । असार ९ गते पनि उनी सर्वोच्‍च अदालतसँग खनिए । उनले ट्‍वीट गरे 'आफ्नै नजीरविपरित फैसला ! ।' '२०७४ असोज र ०७८ असारका बीच श्री सर्वोच्च अदालतले गरेको फैसलामा देखिएको यो के हो ?' थापाले प्रश्‍न गरे 'आफ्नै नजीर र व्याख्याविपरित रहेको हिजोको फैसला विरोधाभाषपूर्ण र आश्चर्यजनक रहेको छ । संविधान र कानुनको व्याख्यामा यस्तो परस्परविरोधी अभ्यासले कहाँ पुर्‍याउने होला ?'

आज बिहान पनि थापाले सर्वोच्‍चलाई पछ्याउन छाडेनन् । लगातार ओलीविरुद्ध फैसला आउन थालेपछि थापा न्यायाधीशमाथि पनि प्रश्‍न उठाउन थालेका छन् । आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान ?' भन्‍दै ट्‍वीट गरेका छन् ।

'कोरोना महामारीको कहर छ, खोप ल्याएर जनता बचाउनु छ, स्वास्थ्यमन्त्री रिक्त पारिएको छ' थापाले ट्‍वीट गरेका छन् 'बाढीको चपेटामा परेर मेलम्ची राहत-उद्दार पर्खेको छ, चुनाव गराउन शाान्ति-सुरक्षाको विशेष खाँचो पर्छ, गृहमन्त्री खाली गरिएको छ ।'