अमेरिकी दूतावासमा पाउँदैनन् समय, भिसाका लागि भारत र थाइल्याण्ड धाउँदै विद्यार्थी

काठमाडौँ- इटहरीका गणेश कोइरालाले एक वर्षअघि स्नातक तह पूरा गरे । लगत्तै उनले स्नातकोत्तर गर्न अष्ट्रेलिया जाने सोच बनाए । त्यहीँ अनुसार आफ्नो कागजपत्र पनि तयार गरे ।
उनी इटहरीबाट आएर काठमाडौँका विभिन्न कन्सल्टेन्सी धाए । कन्सल्टेन्सीमार्फत कलेज छनौट गरे । तर, उनले सोचेको र भनेजस्तो कलेज र भिसाको लागि समय पाएनन् । भिसाकै समय नपाएकाले निराश बन्दै केही समयलाई विदेश अध्ययनलाई बिराम लगाए ।
पछिल्लो समय उनले अध्ययन गर्न अमेरिका जाने सोच बनाए । पुनः काठमाडौँका कन्सल्टेन्सी र अमेरिकाको भिसा आवेदनका लागि अनलाइन फर्म बुझ्न हिँडे ।
अष्ट्रेलिया जान नपाएका उनले एक पटक अमेरिका जाने दृढ सोच बनाएर काठमाडौँ आए । अमेरिकी दूतावासमा भिसाको अन्तर्वार्ताका लागि समय पाउन मुस्किल भएको उनले गुनासो गरे ।
'दूतावासमा विद्यार्थी भिसाको समय पाउन गाह्रो छ । सन् २०२५ को मार्च, अप्रिलतिर अन्तर्वार्ताको समय पाइएको छ,' उनले भने, 'नेपालमा रहेको अमेरिकन दूतावासबाट समय पाइएन ।'
अहिले उनले भिसा आवेदनका लागि थाइल्याण्डबाट अन्तर्वार्ता दिने योजना बनाएका छन् । उनले अप्लाइ गरेको कन्सल्टेन्सीले नेपालबाट समय नपाइने भएकाले थाइल्याण्डबाट समय लिन सुझाएको सुनाए ।
'साउन ३० गते थाइल्याण्डस्थित अमेरिकन दूतावासबाट अन्तर्वार्ताको मिति तय भइसकेको छ,' उनी भन्छन्, 'नेपालमा रहेको दूतावासबाट समय नपाइने भएकाले उतै जान खोजेको हुँ । अहिले गएर भिसा पाएमा जनवरीदेखि हुने पढाइमा सहभागी हुन पाइन्छ । पढाइ पनि धेरै ग्याप भइसकेको छ ।'
काठमाडौँस्थित दूतावासबाट अन्तर्वार्ता दिन पाएको भए धेरै खर्च नहुने २४ वर्षीय कोइरालाको भनाइ छ । थाइल्याण्ड पुगेर अन्तर्वार्ता दिँदा न्यूनतम् ४-५ लाख रुपैयाँ सकिने उनको अनुमान छ ।
उनले अझ कलेजमा बुझाउने पैसाको हिसाब गरेका छैनन् । काठमाडौँमा अन्तर्वार्ता दिन पाएको भए खर्च जोगिने उनको भनाइ छ । उनी भन्छन्, 'अमेरिकी दूतावासमा भिसाका लागि अन्तर्वार्ता गर्न समय पाउन गाह्रो छ ।'
त्यसैगरी चावहिलका अर्का विद्यार्थी निनम मगरको पनि पीडा उस्तै छ । उनले एक वर्षअघि प्लस टु सकाए । पुतलीसडकको कन्सल्टेन्सीबाट अष्ट्रेलियाका अध्ययन गर्न जान कोसिस गरे । कलेजलाई बुझाउने पैसा पनि जोहो गरेका थिए ।
कन्सल्टेन्सीमा सबै आवश्यक कागजपत्र बुझाए तर अन्तिममा अष्ट्रेलियाले उनको भिसा रिजेक्ट गरिदियो । केही समय यत्तिकै बसे उनी ।
पुनः विदेश अध्ययन गर्न सोच बनाए । अहिले भने उनी अमेरिका जाने तयारीमा छन् । अमेरिकी दूतावासबाट अन्तर्वार्ता गर्न समय पाउन गाह्रो रहेको निनाम बताउँछन् ।
भारतस्थित अमेरिकी दूतावासबाट उनले अन्तर्वार्ताको समय पाएकाले आजै भारत गएका छन् । कन्सल्टेन्सीले भारतबाट समय मिलाएकाले उतैबाट अन्तर्वार्ता दिन लागेको उनले जानकारी दिए ।
'नेपालस्थित अमेरिकी दूतावासबाट समय पाउन गाह्रो छ । भारतबाट समय पाइएकाले उतैबाट अन्तर्वार्ता दिने हो,' उनी भन्छन्, 'अहिले पनि पढ्न जान नपाइएला जस्तो छ । यहाँ नपढेर बसेको समय खेर गइसकेको छ ।'
काठमाडौँमा अन्तर्वार्ता दिन पाएको भए भारतमा जाँदा आउँदा लाग्ने खर्च बच्ने उनको भनाइ छ । 'अहिले भिसाका लागि अप्लाइ गर्दा एक वर्षपछि मात्र समय पाइने अवस्था रहेको छ,' उनले भने, 'अन्तर्वार्ता दिन जाँदा कम्तीमा १ लाख सकिन्छ होला ।'
नेपालस्थित अमेरिकी दूतावासमा भिसाका लागि अन्तर्वार्ता गर्ने समय नपाएर बाहिर गएर अन्तर्वार्ता दिने विद्यार्थीको संख्या बढ्दै गएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराईले नेपालबाट विद्यार्थीले अन्तर्वार्ताका लागि समय नपाएकाले आत्तिएर गएको बताए ।
केही विद्यार्थीहरू छिमेकी मुलुक भारत लगायतका अन्य मुलुकमा गएर भिसाका लागि अन्तर्वार्ता गर्न गइरहेको सुनिरहेको उनले बताए । अष्ट्रेलियाले भिसा कडाइ गरेपछि अमेरिकातर्फ जाने विद्यार्थीको संख्या बढ्न गएको उनको भनाइ छ ।
'पछिल्लो समय अमेरिकी दूतावासले अन्तर्वार्ता दिनेहरूको समय मिलाइरहेको छ । विद्यार्थीको संख्या बढ्दा जसरी पनि दूतावासले समयको व्यवस्थापन गरिरहेको छ,' उनले भने, 'पछाडिको समयलाई मिलाएर अगाडि तानिरहेको अवस्था छ । दूतावासमा कर्मचारी अभाव हुँदा पनि भिसाका लागि आवेदन दिनेहरूको अन्तर्वार्ता पर-पर सरेको हुन सक्छ ।'
पर्खन सक्ने विद्यार्थीका लागि भारत जानुपर्ने अवस्था नरहेको उनले खुलाए । दूतावासले अन्तर्वार्ताको समय सकेसम्म मिलाउने गरेको भट्टराईले प्रस्ट पारे ।
अमेरिकी दूतावासले अन्तर्वार्ताको समय मिलाएर सहज गरिदिएमा नेपाली पैसा नबाहिरिने अध्यक्ष भट्टराईले बताए ।
उनका अनुसार अहिले अन्तर्वार्ताका लागि आवेदन दिएमा सन् २०२५ को मार्चमा पाउँछन् । विद्यार्थीले कलेजको प्रभावकारी कागजपत्र देखाएमा दूतावासले अगाडि पनि समय सारिदिएको उदाहरण सुनाए ।
त्यसैगरी, नेपाली विद्यार्थीले अमेरिकी दूतावासमा भिसा अन्तर्वार्ताको समय पाउन छाडेपछि यस समस्याको बारेमा कुरा गर्न खोज्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईसँग कुराकानी गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । फोनमा घण्टी गए पनि सम्पर्क हुन सकेन ।
शिक्षा मन्त्रालयका केशवप्रसाद दाहालले अमेरिकी दूतावासले विद्यार्थीले भिसा आवेदन दिँदा अन्तर्वार्ताको समय नपाएको जानकारी र गुनासो थाहा पाएको बताए । हामीले कुनै पनि मुलुकलाई भिसाको समय देउ भनेर भन्न नमिल्ने उनको भनाइ छ ।
उनका अनुसार सबै मुलुकको आ-आफ्नो नियम हुन्छ । मन्त्रालयको तर्फबाट दूतावासलाई केही भन्न सकिन्न । यसका लागि मन्त्रीस्तरीय छलफल हुन सक्छ ।
'दूतावासबाट विद्यार्थीहरूले समय नपाएको विषयहरू माथिल्लो निकायमा राख्नेछु,' उनले इकागजसँग भने ।

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरूङ निर्वाचित

चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै
स्पामा सेवाग्राही बढ्दै, व्यवसायी उत्साहित हुँदै

आजको मौसम : तीन प्रदेशमा हल्कादेखि मध्यम वर्षा

दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

दुर्गा प्रसाईलाई हत्कडी लगाएर विमानस्थल पुर्याइयो, काठमाडौँ ल्याइदैँ

प्रतिक्रिया