धितोपत्र बोर्डले नेप्सेलाई सोध्यो, ‘एसएमईजको छुट्टै इण्डेक्स बनाउने तयारी कहाँ पुग्यो ?

काठमाडौँ : धितोपत्र बोर्डले दोस्रो बजारमा साना तथा मझौला कम्पनीहरूको सेयर कारोबारका लागि एसएमईज् प्लेटफर्म तथा मेन बोर्ड बनाउने तयारीका सम्बन्धमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से)सँग सोधपुछ गरेको छ । चालु आर्थिक वर्षका लागि धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममा साना तथा मझौला कम्पनीहरू एउटै प्लेटफर्मममा सूचीकरण भई छुट्टै कारोबार हुँदा धितोपत्र सूचकांकहरूले बजारको यथार्थ प्रतिनिधित्व हुने उल्लेख थियो ।
धेरै प्रकारका कम्पनीहरू एकै प्लेटफर्ममा सूचीकरण भई कारोबार हुँदा धितोपत्र सूचकांहरूले बजारको यथार्थ प्रतिनिधित्व नगरेको भन्दै बोर्डले साना तथा मझौला आकारका कम्पनीहरुको लागि उक्त कम्पनीहरुको चुक्ता पूँजी र बजार पूँजीकरणको आधारमा नेप्सेको छुट्टै कक्षमा सूचीकरण तथा कारोबार हुने प्लेटफर्म तयार गर्ने सम्बन्धमा बोर्डले नेप्सेसँग पूर्वाधार लगायत तयारीका सम्बन्धमा जानकारी मागेको हो ।
एसएमईज् प्लेटफर्म कार्यान्वयनमा ल्याउन आवश्यक पूर्वाधार र कानूनी प्रावधान सम्बन्धमा छिमेकी देश लगायत विश्वका अन्य देशहरुको धितोपत्र बजारमा यस सम्बन्धमा अवलम्बन गरिएका असल अभ्यास तथा नेपालको साना तथा मझौला उद्योग लगायत औद्योगिक क्षेत्र तथा दोस्रो बजारको हालको अवस्था समेतको समीक्षा गरी बोर्डले प्रारम्भिक अध्ययन गरेको उल्लेख गरेको छ । सो अध्ययन प्रतिवेदनको सिफारिश अनुरूप नेप्सेले कार्यान्वयनका सहजता र जटिलताका सम्बन्धमा बोर्डलाई जानकारी गराउने बताइएको छ ।
प्रतिक्रिया