डेडिकेटेड र ट्रंक लाइन उपयोग गरेबापतको बिलमा कुनै चलखेल भएको छैन : निर्देशक घिसिङ

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन उपयोग गरेबापतको बिलको सम्पूर्ण प्रमाण सुरक्षित रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै घिसिङले डेडिकेटेड र ट्रंक लाइन उपयोग गरेबापतको बिलमा कुनै चलखेल नभएको दाबी गर्दै सम्पूर्ण प्रमाण सुरक्षित रहेको बताएका हुन् । उनले प्राधिकरणसँग भएको बिलको प्रमाण यसअघि अदालत र अघिल्लो सार्वजनिक लेखा समितिमा समेत पेस भइ आवश्यक आदेश र निर्णय भएको जिकिर गरे ।
टिओडी मिटरको रिडिङ प्राधिकरणसँग नरहेको भन्ने विषय सहि नभएको भन्दै उनले सबै विवरण प्राधिकरणसँग रहेको बताए । अहिले सार्वजनिक लेखा समितिले मागेका सबै विवरण प्राधिकरणले पठाइसकेको र त्यसमा सपोर्टका लागि अन्य कागजात पनि समावेश गरिएको उनले बताए ।
घिसिङले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको जानकारी दिए । उनका अनुसार प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । उनले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको बताए ।
निर्यातको मात्रा बढ्दै गएर गत आर्थिक बर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको उल्लेख गरे । नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बङ्गलादेश पनि निर्यात हुन लागेको जानकारी दिँदै घिसिङले यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको बताए ।
निर्देशक घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत आर्थिक वर्षमा प्रणालीको चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा झारिएको उल्लेख गरे । उनले तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको जानकारी दिए ।
घर र बस्ती मात्रै नभई उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको उनले बताए । उनले सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने र सरकारको निर्देशन र उपभोक्ताको हित प्राधिकरणका लागि सर्वोपरि भएको स्पष्ट पारे ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया