लथालिंग छन् सरकारी सवारीसाधन, न तिर्छन् कर न गर्छन् लिलाम

काठमाडौँ- ललितपुरस्थित हरिहरभवनको कृषि विभागमा ८९ वटा सवारीसाधन अलपत्र अवस्थामा छन् । १२० मध्ये ८९ वटा सवारीसाधन अलपत्र अवस्थामा छन् । ८३ वटा मोटरसाइकल/स्कुटर र ६ वटा चारपाङ्ग्रे सवारी साधन अलपत्र अवस्थामा भेटिएका हुन् ।
कृषि विभागका प्रवक्ता अरुण काफ्लेले ७५ वटा सवारीसाधन भएको जानकारी दिए । काफ्लेका अनुसार चालु अवस्थामा दुइपाङ्ग्रे सवारीसाधन ३० वटा, मर्मत गर्नुपर्ने ८ वटा र लिलाम गर्नुपर्ने ३५ वटा रहेको छ । चारपाङ्ग्रे सवारीसाधन ८ वटामा मर्मत गर्नुपर्ने २ वटा र लिलाम गर्नुपर्ने ३ वटा रहेका छन् ।
अधिकांश सवारीसाधन वर्षौदेखि नचलाएको अवस्थामा भेटिएका छन् । विभागले आफ्नो विवरणमा उल्लेख नगरेका ४० सवारी साधन अलपत्र अवस्थामा छ । कतिपय सवारी साधनको बिलबुकसमेत छैन ।
अचम्मको कुरा त कार्यालय परिसरभित्रै भएको सवारी साधनहरूको सही तथ्याकंसमेत विभागका कर्मचारीहरूसँग छैन । कार्यालय प्रमुखदेखि तल्लो तहका कर्मचारीहरू एकले अर्कालाई दोष देखाएर पन्छिछन् ।
सूचना अधिकारी काफ्ले आफू विभाग आएको चार महिना मात्रै भएकाले सबै सवारी साधनबारे जानकारी राख्न नपाएको बताउँछन् । विभागकै अर्की अधिकृतले विवरण अपडेट गर्न खोजे पनि हाकिमहरूले नमानेको बताउँछिन् । 'नयाँ हाकिमहरू आउँदा अवस्था यस्तो छ भनेर भन्छौँ तर उनीहरू हिजो जे छ त्यही गर्नुस् टाउको नदुखाउनुस् भन्नुहुन्छ', उनले इकागजसँग भनिन् । आफूले परिवर्तन गर्न खोजे पनि नसकेको उनको गुनासो छ ।
काफ्लेले अधिकांश सवारीसाधनहरू विगतका आयोजनाहरू समाप्त भएपछि हस्तान्तरण भएर आएको बताए । 'विभिन्न परियोजनाहरू सञ्चालित थिए ती समाप्त भएपछि सवारीसाधन यही जिम्मा लगाएको देखिन्छ' उनले भने, ‘कतिपय आयोजनाहरू प्रदेशमा गएकाले पनि सवारीसाधन यही जिम्मा लगाउँदा धेरै देखिएको हो ।' विभागले ६ वर्षदेखि नयाँ सवारीसाधन खरिद नगरेको उनले बताए ।
सरकारी कार्यालय नै सवारी कर तिर्दैनन्
कृषि विभागमा थन्किएर रहेका ८९ सवारीसाधन अधिकांशको कर नतिरेको पाइएको छ । २०७० साल अघिदेखि नै ती सवारी साधनको कर नतिरेको हो । कर धेरै भएकाले नतिरेको विभागका एक अधिकृतले जानकारी दिए ।
'एउटा सवारी साधनको ५० हजार देखि ६० हजारसम्म कर पुगिसकेको छ' उनले भने, 'नेपाल सरकारलाई घाटा लाग्छ भनेर कर नतिरेका हौँ ।' कर तिर्दा राज्यको ढुकुटीबाटै पैसा जाने उनको तर्क छ ।
मर्मत गर्न बजेट पुग्दैन
प्रवक्ता काफ्लेले मर्मतका लागि प्रत्येक सवारी साधन बापत वर्षेनी १० हजार बजेट आउने जानकारी दिए । बजेटले मर्मत गर्न रकम अपुग हुने उनले बताए ।
'८ वटा बाइक र २ वटा चारपाङ्ग्रे मर्मत गर्नुपर्नेछ’ उनले भने,’ सरकारले छुट्याएको बजेटभन्दा धेरै लाग्ने भएकाले त्यतिकै राखेका छौँ ।' यसवर्ष ७ लाख बजेट मर्मतका लागि छुट्याएकाले मर्मत गरेर केही सवारीसाधन चलाउने उनले जानकारी दिए ।
सवारीसधान लिलाम गर्न समस्या
सरकारी सवारीसधान लिलाम गर्न समस्या भएको विभागका प्रवक्ता काफ्लेले जानकारी दिए । कतिपटक लिलामको प्रक्रिया सुरु गर्न खोज्यौँ तर एकदम झन्झटिलो छ ।
वर्षौदेखि कर नतिरेकाले लिलामी गर्न समस्या भएको उनले बताए । व्यक्तिगत सवारी साधनको लिलाम यातायात विभागले गर्छ भने सरकारी सवारी साधनको लिलाम हेभी इक्वीपमेन्ट डिभिजनले गर्दै आएको छ ।
हेभी इक्वीपमेन्ट डिभिजन काठमाडौँका सूचना अधिकारी विजय हाछेथु २० वर्ष पुगेका र मर्मत गर्न २५ प्रतिशत बढी खर्च लाग्ने सवारी साधन लिलाम गरिने बताउँछन् । त्यसको लागि सबै करहरू चुक्ता हुनुपर्ने उनले जानकारी दिए ।
लगतकट्टाका लागि त्यो अवधिसम्मको कर चुक्ता हुनैपर्ने उनको भनाइ छ । उनले भने, ‘सरकारी सवारी साधन भनेर कर छुट हुदैन तिनैपर्छ ।' गाडीहरू जलेमा कामै नलाग्ने भयो भने पनि तिनीहरूको लिलाम गर्न सकिने उनले बताए ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया