भारतबाट फर्किएर गाउँमै कृषिकर्म

वेदकोट (कञ्चनपुर)- कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ सुन्दरनगरका ३० वर्षीय प्रेम रोकाया पुष्प व्यवसाय र तरकारीखेतीमा व्यस्त छन् । केही वर्षअघिसम्म भारतका होटलमा काम गर्ने उनी स्वदेश फर्किएर गाउँमै कृषिकर्ममा व्यस्त भएका हुन् ।
सुन्दरनगरमा रोकायाले १० कट्ठा जमिनमा सयपत्री फूलको खेती गरेका छन् । उनले फूलसँगै तरकारीखेती पनि गरिरहेका छन् । यही कृषिकर्मबाट घरखर्च जोहो गर्दै आएको उनले बताए । “विदेशमा १२ घण्टासम्म काम गर्नुपर्ने, त्यसमा पनि मालिकको किचकिच खेप्नुपर्थ्यो । अर्काको काम गर्नुभन्दा त स्वदेशमै केही काम गर्ने भनेर घर फर्किए, कृषि गर्न थाले । त्यसपछि फेरि विदेशिने सोच आएको छैन”, रोकायाले भने ।
सुरूआतमा उनले रु पाँच लाखमा बङ्गुरपालन गरेका थिए तर बजार नपाउँदा व्यवसाय छोड्नुपर्यो । त्यसपछि उनले पुष्पखेती सुरू गरे, यसबाट भने जीविकोपार्जन चलिरहेको रोकायाले सुनाए । “बङ्गुरपालन गर्दा निकै घाटा लाग्यो तर निराश भइन बरू पुष्पखेती गर्ने सोच बनाए”, उनले भने, “अनलाइनमा युट्युब हेरेर पुष्पखेतीसम्बन्धी सीप सिकेँ । प्रविधिबाट सिकेको सीप नै पुष्पखेती विस्तारमा उपयोग गरिहेको छु ।”
रोकाया थप चार कट्ठा जमिनमा पुष्पखेती विस्तार गर्ने योजनामा छन् । सुरूआतमा भारतको कलकत्ताबाट फूलको बीउ मगाएर आफैँले बेर्ना उत्पादन गरेको उनले स्मरण गरे । “सुरूमा भारतबाट बीउ मगाए तर अहिले आफैँले बेर्ना उत्पादन गरिरहेको छु । फूल र माला बेचेर खर्च टाएर एक वर्षमा रु एक लाखभन्दा बढी आम्दानी हुन्छ । परिवारको गुजारा चलाउन यसले निकै सहयोग पुगेको छ”, रोकायाले भने ।
हाल उनले बारीमा उत्पादन गरेको सयपत्री फूलका बेर्ना खेतमा सारिसकेका छन् । असार अन्तिमतिर राखेको बेर्ना एक महिनामै खेतमा सार्नका लागि तयार हुन्छ । खेतमा सारेको अढाइ तीन महिनाभित्र फूल बिक्रीका लागि तयार हुने गरेको उनले सुनाए ।
उनी भन्छन्, “फूल र माला उनेर बिक्री हुने गरेको छ । विशेषगरी दसैँ, तिहारमा प्रति किलोग्राम माला रु दुई सय ५० र रु एक सयमा फूल बिक्री हुने गरेको छ । त्यसबाहेकको समयमा प्रतिकिलो माला रु पाँच सय र फूल रु दुई सयमा बेच्ने गर्छु । गतवर्ष उत्पादित फूल र माला दोधारा–चाँदनी क्षेत्रमै बिक्री गरेर रु एक लाख १५ हजार आम्दानी गरेको थिए ।”
रोकायाले यससँगसँगै उनले बोडी, फर्सी, लौकीलगायत तरकारीखेती पनि खेती गर्छन् । यसमा श्रीमतीलगायत परिवारको सहयोग गरिरहेका छन् । सामान्य अवस्थामा परिवारका सदस्य र आवश्यक परेका बेला मजदुर लगाएर पनि काम गराइरहेको रोकायाले बताए । यसैबाट आर्जेको रकमले घरखर्च र दुई सन्तानको पठनपाठन खर्च जोहो भइरहेको उनले सुनाए ।
“पहिले भारतमा निकै मेहनत गर्दा हाम्रो आर्थिक अवस्थामा कहिल्यै सुधार भएन । अहिले आफ्नै देशमा परिवारसँगै बसेर आम्दानीसँगै आत्मसन्तुष्टि पनि प्राप्त गरिरहेको छु । तरकारी र फूलखेतीबाट लगानी कटाएर वार्षिक रु तीन लाखसम्म बचाउन सकिन्छ”, उनले भने । रासस
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया