मंगलबार २६ चैत, २०८१
Tuesday, April 08, 2025

डीपीआर बनाउन मन्त्रालयले छान्यो चार कम्पनी, एक महिनामा प्रस्ताव पेश गर्नुपर्ने

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूदुरपश्चिम प्रदेशको अत्तरिया-धनगढी औद्योगिक करिडोर निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चार वटा कम्पनी छनोट गरेको छ । 

सुदूरपश्चिममा व्यवस्थित र सुविधासम्पन्न औद्योगिक करिडोर निर्माण गर्ने सोचका साथ गुरुयोजना तयार गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जानकारी दिएको छ । गत असोज ८ मा मन्त्रालयले सूचना जारी गर्दै करिडोरको डिपिआरका लागि आशयपत्र माग गरेको थियो ।

गत वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कैलालीको एक कार्यक्रममा दोधरा चाँदनीमा सुख्खा बन्दरगाह, दैजीमा औद्योगिक क्षेत्र, अत्तरिया—धनगढीलाई औद्योगिक करिडोर र डुडेझारीमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेका थिए ।

सरकारले औद्योगिक करिडोरको प्रवर्धन गर्ने नीति लिए पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । निजी क्षेत्रबाट विकास भएका ठूला औद्योगिक करिडोरहरू मोरङ–सुनसरी, बारा–पर्सा, बुटवल–भैरहवा, कोहलपुर–नेपालगन्ज, धनगढी–अत्तरियालगायतमा पूर्वाधार निर्माण गरी प्रवर्धन गर्ने सरकारी नीति छ । तर, सरकारले करिडोर विकासको योजनाबद्ध काम हुनसकेको छैन । अत्तरिया–धनगढी औद्योगिक करिडोर विकासको क्रममा छ ।  यस क्षेत्रमा उद्योगहरू खुल्नेक्रममै छन् ।

मोरङ–सुनसरी र बारा–पर्साजस्तो स्वतः विकास भएका करिडोर हुन् । मन्त्रालयले चालू आर्थिक वर्षभित्रै करिडोरको डिपिआर तयार गर्ने योजना बनाएको छ । डीपीआर तयार भएपछि त्यसकै आधारमा क्रमशः करिडोरका लागि आवश्यक पूर्वाधार तयार गर्ने उल्लेख छ ।

मन्त्रालयले १५ कम्पनीमध्ये चार वटा कम्पनी छनोट गरेको हो । छनोट पर्नेमा इकोकोड नेपाल(ईन्क्लुसिभ कन्सल्टेन्ट्स प्राली(एडीएमसी जेभी, नेस्ट(पिकासो(एनएसी जेभी, मल्टी(पारागन(डीई(फोर्ट जेभी र टीएईसी-एफबीसी छन् ।

मन्त्रालयले आशयपत्र दाताको योग्यता, अनुभव र क्षमता मूल्यांकन गरि छनोट गरेको हो । छनोटमा परेका कम्पनीहरुले एक महिनासम्मका लागि प्रस्ताव पेश गर्नुपर्नेछ ।