‘पर्यटकीय यातायातलाई छुट्टै इम्बोस्ड नम्बर प्रयोग गर्न देउ’

काठमाडौँ- पर्यटक यातायातका सवारीसाधनलाई छुट्टै इम्बोस्ड नम्बर उपलब्ध गराउन नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष बेदराज बास्तोलाले माग गरेका छन् ।
शुक्रबार काठमाडौँको बुढानिलकण्ठस्थित पार्क भिलेजमा आयोजित संघको २१ औँ वार्षिक साधारण सभामा उनले इम्बोस्ड नम्बर प्लेटको कारण पर्यटन क्षेत्रको पहिचान हटेको बताए ।
'इम्बोस्ड नम्बर प्लेटको कारण पर्यटन क्षेत्रको पहिचान हटेको छ,' उनले भने, 'हरियो प्लेट हट्न गई सार्वजनिक सवारीसाधन र पर्यटक सवारीसाधन बीचको भिन्नता नदेखिएको तथा समग्र पर्यटनको पहिचान गुम्न जाने खतरा छ ।'
पर्यटक बोक्ने रातो र हरियो प्लेटलाई बिनारोकतोक सडकमा सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ । उनले जुन प्रयोजनका लागि पर्यटन क्षेत्रमा व्यवसाय दर्ता भएकालाई सोही अनुसार सञ्चालन गर्न दिनुपर्ने बताए ।
हाल उनले पर्यटकीय यातायातको समस्या औंल्याउँदै पार्किङ अभाव, कठोर कारबाही र बीमा दाबी भुक्तानीमा न्यून मूल्यांकन तथा ढिलासुस्ती भइरहेको उल्लेख गरे ।
उनले भारतीय सवारीसाधनको अनियन्त्रित प्रवेश र पर्यटकलाई भिसा प्रदान गरिए पनि ट्राफिकले बीच सडकमा ओरालेर अनावश्यक चेकजाँच गरिरहेको बताए ।
सम्पदा क्षेत्रमा जाने भारतीय सवारीसाधनलाई नियन्त्रण गर्नुपर्ने बास्तोलाले माग राखे । निजी सवारीसाधनले अनियन्त्रित ढंगले भाडामा लगाएकाले त्यस्ता कार्यलाई रोक्न पनि उनले माग गरेका छन् ।
ट्राफिक प्रहरी बीच सडकमा पर्यटक बोकेको सवारीसाधनलाई होल्ड गर्ने गरेको उनले बताए । व्यक्तिका नाममा खरिद गरिएका सवारीसाधनले करको दायराभन्दा बाहिर रहेर भाडा प्रयोजनमा नियमविपरीत बिल बीजक नगरी काम गरेको उनको भनाइ छ । राज्यले त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न नसकेको उनले आरोप लगाए ।
'खर्बौँ लगानी गरी व्यवसाय सञ्चालन गरिरहेको व्यवसायीहरूको व्यवसाय सुरक्षा गर्नु राज्यको दायित्व हो,' उनले भने, 'पर्यटन यातायातको कारण हज्जारौँ मजदुरले रोजगार पाएका छन् । राज्यको कानुन पालना गरी व्यवसाय सञ्चालन गरिरहेका छौ ।'
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पर्यटक यातायात सेवा रहेकाले यसलाई संघको रूपमा नलिन सुझाए । पर्यटन क्षेत्र नेपालको मेरुदण्ड रहेको उनको भनाइ छ ।
'रातो प्लेटको यातायातले पर्यटक बोक्न पाउने गरी छलफल चलिरहेको छ,' मन्त्री दाहालले भने, 'नेपालमा २०५८ को यातायात नीति यथावत् छ । हाल नीति बनाउन लागिएको छ ।'
सुरक्षा निकायले पर्यटकलाई अनावश्यक दुःख नदिन उनले आग्रह गरे । पर्यटकको सुरक्षा जिम्मेवारी सरकारले लिने दाहालको भनाइ छ ।
उनले पर्यटक यातायातका चालकले बानी व्यवहार सुधार्नुपर्ने बताए । चालकलाई पर्यटकीय स्थलका बारेमा जानकारी दिनलाई उनले सुझाए । 'पर्यटकलाई सेवा सुविधाको आभास सवारीसाधनबाट हुनुपर्छ,' उनले अगाडि थपे, 'त्यसका लागि मन्त्रालयले सहयोग गर्छ । यसमा सबैले सहकार्य गर्नुपर्छ ।'
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख जीवन कुमार श्रेष्ठले ट्राफिक प्रहरी र पर्यटक यातायातका साधनहरू सडकमा सँगसँगै रहेको बताए । सडकको इन्जिनिरियङ अवस्था र कानुनको कारण ट्राफिकले सडकमा फरक परिचय बनाएर बसेको उनले बताए ।
'अहिलेको अवस्थामा तीन तहका सरकारले काम गर्नुपर्छ,' उनले भने, '२०४९ को नीतिले निजी गाडीले यात्रु बोक्न छुट दिएको छ र ? हाल कति कानुन कार्यान्वयनमा आए होलान् कति आएनन् ।'
श्रेष्ठले ट्राफिक प्रहरी सडकमा कसैलाई गाह्रो बनाउन नभइ सहजीकरण गर्न बसेको बताए । 'केही कमजोरी ट्राफिक प्रहरीबाट भयो होला त्यसलाई सुधार गरेर जान्छौ । सँगसँगै मिलेर जाऔँ र सरोकारवाला निकाय मिलेर काम गरौं,' उनले अगाडि थपे ।
इम्बोस्ड नम्बरको विषय पेचिलो रहेको यातायात व्यवस्था विभागका प्रमुख उद्धव प्रसाद रिजालले बताए । 'यसका लागि ऐन बनाएर काम गर्छौँ । यातायातको क्षेत्र भनेको ऐन बनाएर काम गर्नुपर्ने क्षेत्र रहेको छ,' उनले भने ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया