प्रत्येक पाना च्यात्नु छ

हटेर हैन डटेर
दिनरात अझै खटेर
तिमीले मानेको संविधानको
प्रत्येक पाना
एक-एक गरेर च्यात्नु छ ।
मलाई मनपरी गर्न मन पर्छ ।
मनपरी हिँड्न खोज्यो, खुट्टो अल्झिन्छ ।
मनपरी बोल्न खोज्यो, जिब्रो अल्झिन्छ ।
मनपरी लेख्न खोज्यो, हात अल्झिन्छ ।
तिम्रो किताबको अक्षरबाट
म कहिलेसम्म अल्झिराख्ने ?
तिम्रो किताबको प्रत्येक पाना
एक-एक गरेर च्यात्नु छ ।
संसद् मै हुँ ।
सांसद मै हुँ ।
सत्तापक्ष-प्रतिपक्ष
प्रतिनिधि सभा-राष्ट्रिय सभा
अध्यक्ष-सभामुख
सबै मै हुँ ।
छलफल मनमनै गर्दिन्छु ।
निचोड मै निकाल्छु ।
निर्णय मै गर्दिन्छु ।
हलको हल्लाखल्ला
मलाई मन पर्दैन ।
बारम्बार भत्काएर पनि
एक्लो संसद् चलाउन खोजिरहन्छु
मनको संसद्
एक्लै चलाउन खोज्दा
मलाई रोक्न तम्सिने
तिम्रो किताबको प्रत्येक पाना
एक-एक गरेर च्यात्नु छ ।
सरकार मै हुँ
अड्डामा बसेर ढड्डा नपल्टाउनु ।
दायाँबायाँ केही नसोच्नु ।
माइन्यूट बुक बोकेर
मेरो मुख हेरिरहनु ।
म जे बोल्छु
त्यही निर्णय हो ।
तात्तातै माइन्युट गरिहाल्नु ।
लेख्नै नपर्ने
छाप्नै नपर्ने
कसैले पढ्नै नपर्ने
यो देशको जिउँदोजाग्दो संविधान
अब मै हुँ ।
धारा, उपधारा
ऐन, नियम,
मापदण्ड, निर्देशिका
सबैथोक मलाई मान्नु ।
छुट्टै किताब पढ्न नखोज्नु ।
मलाई संविधान नमान्ने
तिम्रो किताबको प्रत्येक पाना
एक-एक गरेर च्यात्नु छ ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया