देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरू सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरू सञ्चालनमा जोड दिए ।
सिंहदरबारस्थित अर्थमन्त्रालयमा आज बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने वचनबद्धता व्यक्त गरे । 'राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा अर्थमन्त्रालयले राखेको अपेक्षाअनुसार गृहमन्त्रालयले काम गर्छ,' उनले भने, 'मैले मेरो मन्त्रालयका वरिष्ठ अधिकृतहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरुसँग छलफल गरेर राजस्व बढाउन निर्देशन दिएको छु । यसमा हाम्रो पूर्णरुपमा काम गर्ने वचनबद्धता छ ।'
गृहमन्त्री लेखकले जग्गा र भवन भएका छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउन चाँडै निर्णय गरिने तथा जनशक्ति पठाउन पहल गरिने बताए । 'भन्सार कार्यालयको जनशक्ति कम छ भने बढी जनशक्ति भएको ठाउँबाट ल्याएर काम गर्न सकिन्छ । यसमा मैले सहयोग गर्छु । भारततिर भन्सार कार्यालय छैन भनेर नेपालमा छोटी भन्सार कार्यालय सञ्चालन गर्न नरोकौँ । छोटी भन्सार कार्यालय हुँदा राजस्वमा वृद्धि हुन्छ,' उनले भने ।
गृहमन्त्री लेखकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई गृह मन्त्रालयले गर्ने काममा कमी कमजोरी भए जुन सुकै बेला सुझाव दिन आग्रह गरे । यस्तै, उनले सीमित स्रोतसाधनका बाबजुद प्रहरीले धेरै भार बोकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।
'प्रहरीलाई काम गर्न धेरै भार भएको छ । अत्यन्त सीमित स्रोत साधनका भरमा काम गरिरहेका छन् । यस विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु', गृहमन्त्री लेखकले भने ।

लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ : पूर्वउपप्रधानमन्त्र…

राजा फर्काउने आन्दोलनको कमाण्डरको जिम्मा पुन: सुवेदीलाई

जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री…

राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल

राप्रपाले 'नविन समझदारी' का लागि बुझायो देशैभरी ज्ञापन पत्र

मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री ओली

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री

प्रतिक्रिया