सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

इलामको माइभ्याली सामुदायिक वनका तत्कालीन अध्यक्ष र कोषाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोल बहादुर कार्कीविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले कार्कीले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत भई काबेली कोरिडोरको तार विस्तार गर्ने क्रममा कटान आदेशभन्दा बाहिर आफूखुसी कटान गरी घाटगद्दी लिलाम प्रक्रिया अगाडि बढाएको, लेखा परीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफू खुसी कारोबार गरी आर्थिक अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारले कार्कीले  ३० लाख ७८ हजार ६०० बराबरको वार्षिक कार्ययोजना स्वीकृत नगरी बदनियतपूर्वक खर्च गरेको तथा कटान आदेशभन्दा बढी ८ लाख ५५ हजार ५०४ बराबरको वन विनाश गरेको भन्दै कुल ३९ लाख ३४ हजार १०४ बराबरको बिगो दाबिसहित मुद्दा दायर गरेको छ ।

त्यस्तै अख्तियारले बैंकमा रहेको खातामा समितिका अध्यक्ष कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फे लोक्तामको संयुक्त दस्तखतबाट खाता संचालन भएको र निजले चेकमा हस्ताक्षर गरेको खुल्न आएकोले कोषाध्यक्ष लोक्तामविरुद्ध पनि मुद्दा दायर गरेको उल्लेख छ ।