युक्रेनमा ६६ हजार रूसी सैनिक मारिएको ‘मिडियाजोना’को दाबी

काठमाडौँ - युक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रूसी सैनिकको मृत्यु भएको एउटा स्वतन्त्र रूसी सञ्चार माध्यम ‘मिडियाजोना’ले शनिबार जनाएको छ।
‘मिडियाजोना’ले बीबीसी रूसी सेवासँगको सहकार्यमा खुला स्रोतको तथ्यांक प्रयोग गरेर ज्ञात सैनिकको मृत्युको सूची तयार गरिरहेको छ।
यसअघि, गत अप्रिलमा उनीहरूले मारिएका ५० हजारभन्दा बढी रूसीको नाम फेला परेको घोषणा गरेका थिए ।
‘मिडियाजोना’ले शनिबार भनेको छ, 'अगस्ट ३० सम्म हामीलाई युद्धमा मारिएका ६६ हजार ४७१ रूसी सैनिकको नाम प्राप्त भएको छ ।'
पछिल्लो चार हप्तामा यो सूची चार हजार ६०० भन्दा बढीले बढेको र धेरै सैनिकहरूको मृत्यु सार्वजनिक नगरिएकाले यो निश्चित आँकडा नभएको स्रोतले जनाएको छ ।
‘मिडियाजोना’की एक सञ्चारकर्मी अनास्तासिया अलेक्सिएभाले मृत्यु हुनेको पछिल्लो सङ्ख्या कुस्र्क क्षेत्रमा युक्रेनको आक्रमण वा पूर्वमा रूसको प्रगतिसँग सम्बन्धित नभएको बताएका छन्। 'यसको कारण यो हो कि अनुसन्धानकर्ताहरूले अझै पनि मृत्यु रिपोर्टहरूको ब्याकलगमार्फत काम गरिरहेका छन्,' उनले भने ।
प्रतिवेदनमा राष्ट्रिय सेवामा संलग्न १७२ जना सैनिक युद्धमा मारिएको पाइएको उल्लेख गरिएको र यो प्रारम्भिक महिनाहरूमा सबैभन्दा बढी हो।
‘मिडियाजोना’का सम्पादक दिमित्री ट्रेश्चानिनले भने, 'यी आँकडाहरू पूर्णरूपमा सही नहुन पनि सक्छन् किनभने अनिवार्य सैन्य भर्ती केन्द्रहरूले व्यावसायिक सैन्य सम्झौतामा हस्ताक्षर गर्नका लागि केही आफन्तहरूको नाम दर्ता गरेको हुन सक्छन्।'
‘मिडियाजोना’को विवरणअनुसार सबैभन्दा बढी दक्षिणी गणतन्त्र बाश्कोर्तोस्तानमा दुई हजार ५७८ जनाको मृत्यु भएको छ । यहाँ ठूलो सङ्ख्यामा मुस्लिम समुदायको बसोबास छ।
समग्रमा सबैभन्दा बढी मृत्यु ३३ देखि ३५ बर्षको उमेर समूहका सैनिकको भएको र यस समूहबाट छ हजार ८७७ जनाको मृत्यु भएको छ।
मृत्यु भएकामध्ये १२ हजारभन्दा बढी कैदीहरू थिए । रूसले कैदीहरूलाई पहिलो चरणको एक अवधिपछि स्वतन्त्रताको आश्वासन दिएर युद्धमा पठाएको छ ।
'तर पछिल्लो समय भर्ती अभियान त्यति सक्रिय छैन, त्यसैले यो सङ्ख्या घटेको छ,' अलेक्सिएभाले भने ।
‘मिडियाजोना’ र बीबीसीले रूसी चिहानहरूको उपग्रहबाट प्राप्त तस्वीरहरूको प्रयोग गर्दै नयाँ मृतकहरूको सङ्ख्या अनुमान गर्न स्वयंसेवकहरूसँग मिलेर फेब्रुअरी २०२२ देखि आधिकारिक रिपोर्ट र मिडियाजस्ता खुला स्रोतबाट प्राप्त हुने जानकारीको प्रयोग गरी मृत्युहरूको गणना गरिरहेका छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमहिनामा युक्रेनमा करिब सात लाख रूसी लडिरहेको बताएका थिए।
मस्कोले ‘विशेष सैन्य अभियान’मा आफूले व्यहोरेको क्षतिबारे तथ्यांक विरलै सार्वजनिक गर्ने गर्छ।
सन् २०२२ को सेप्टेम्बरमा रूसी रक्षा मन्त्रालयले युद्धमा पाँच हजार ९३७ सैनिक मारिएको बताएको थियो।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरीमा युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका थिए । रासस

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया