आइतबार २५ साउन, २०८२
Sunday, August 10, 2025

मेयर शाहलाई काठमाडौँ एमाले कमिटीको चेतावनीः असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्‍न हुन्छ

तस्विरः फाइल फोटो

काठमाडौँ- नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । 

पछिल्लो समय महानगरपालिकाले गरेको निर्णयलाई लिएर एमालेले आपत्तिसमेत जनाएको छ । ज्ञापनपत्रमा महानगरका मेयरले जारी गरेको सूचना तत्काल खारेज गर्नसमेत उल्लेख छ । 

महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिनेटर जग्गामा भवन निर्माण गर्न नदिने भनि गरेको निर्णयको विरोधमा मेयर बालेनलाई एमालेले ज्ञापनपत्र बुझाएको हो ।

महानगरपालिकाबाट जारी यससम्बन्धी सूचनाले लाखौँ व्यक्तिहरु प्रभावित र पीडित भएको भन्दै एमालेले उक्त निर्णय बदर गरी महानगरबासीलाई राहत प्रदान गर्न माग गरेको छ ।

अन्यथा असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्न हुनसक्ने तर्फ सचेत रहन एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले चेतावनी दिएका छन् । ' कानुन एवम आपसी सहमतिबाहेक व्यक्तिको निजि सम्पत्तिमाथि आक्रमण तथा हस्तक्षेपको अन्त्य गर्नुपर्छ,' उनले भनेका छन्,' सार्वजनिक प्रयोजनका लागि सरकारलाई आवश्यक घरजग्गा चलन चल्तीको रेटमा गर्नुपर्ने व्यवस्थासहितको कानुन तत्काल कार्यान्वयन गरिनुपर्छ ।'