आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

कञ्चनपुरमा एकैदिन प्रहरीका दुई वटा भवन उद्घाटन

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरमा नेपाल प्रहरीका दुई वटा भवन उद्घाटन गरेका छन् । भीमदत्त नगरपालिकास्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको भवन उद्घाटन गरेका हुन् । भवन उद्घाटन समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरसमेत सहभागी थिए । 

गृहमन्त्री लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताउँदै प्रहरीको नवनिर्मित भवनबाट सेवा प्रवाहमा सहज हुने बताए ।'अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ', गृहमन्त्री लेखकले भने,'नवनिर्मित भवनले सेवा प्रवाहमा सहज हुनेछ ।'

नेपाल प्रहरीका महानिरीक्षक कुँवरले सम्पूर्ण नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले पूर्वाधार विकासमा जोड दिएको बताए ।'नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन', उनले भने,'यो प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।'