मर्स्याङ्दीको धारलाई पुरानै लयमा फर्काउन मुस्किल

मनाङ : जिल्ला सदरमुकाम चामेस्थित मोटरेवल पुललाई जोगाउन हम्मे हम्मे भएको छ । मर्स्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगान मुस्किल भएको हो । अहिले जेसिबीको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ । सो नदीले बगाएर ल्याएका काठ पुलमा अड्किदा पानी रोकिएर नयाँ धार बनाएर बगेको छ । वर्षा भइरहेकाले पानीको सतह कम नहुँदा जेसिबी प्रयोग गर्न मुस्किल भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले जानकारी दिए ।
“नदीले धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ, त्यसैले मेसिन प्रयोग गरेर पुरानो धारतर्फ धकेल्ने प्रयास गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तेल मगाइयो । पेत त आइपुग्यो । काम गर्न सकिएको छैन”, उनले भने, “पानी पर्न रोकिएको छैन, नदीको सतह उस्तै छ, पुल बचाउन र बस्ती बचाउन साह्रै गाह्रो भयो ।”
मन्त्रालयले बाढीपहिरोका कारण अवरुद्ध बेसीशहर-चामे सडक तत्काल खुलाउन माताहतका निकायलाई निर्देशन दिएको छ । मेसिन चलाउन इन्धन अभाव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत इन्धन चामे ल्याइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । नदीको धारलाई परिवर्तन गराउन उपकरण प्रयोग गर्न कठीन भएको उनले बताए ।
निरन्तरको वर्षाले पानीको सतह नघट्दा उपकरण प्रयोग गर्न र पुलमा अड्किएका काठले गर्दा पानी छिर्न नपाएर धार फेरिएको उनको भनाइ छ । “सडक सञ्जालका लागि उपयोगी बनेको पुल बाढी आउँदा भने समस्याको जड बनेको छ, कसरी समस्या समाधान गर्ने भन्ने भएको छ । ” उनले भने ।
उक्त सडक खण्डमा भएको क्षतिको विस्तृत अध्ययन गर्न सेना र सडक विभागको प्राविधिक टोली आए पनि प्रतिकूल मौसमले साथ दिएको छैन । बाढी पहिरोका कारण बेसीशहर–चामे सडक अवरुद्ध हुँदा जिल्ला सडक सञ्जालबाट पूर्ण रुपमपा विच्छेद भएको छ ।
गत ३१ जेठ रातिदेखि परेको अविरल वर्षाका कारण पूरै सडक खण्ड अवरुद्ध भएका थिए । अहिले सडक विभागले बेसीशहरदेखि १८ किलोमिटरसम्म बाटो खुलाएको छ भने बाँकी अवरुद्ध खण्डको हटाउने प्रयास जारी छ ।
विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, न सेनाका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका बीच छलफल भएको थियो ।
मनसुन सुरु भएदेखि आएको बाढी पहिरोका कारण आएको विपद् हाल माथिल्लो मनाङतर्फ देखिएको स्थनीय बताउँछन् । बाढी पहिरोको प्रभाव शुरुआती चरणमा जिल्लाको तल्लो भागमा बढी देखिएको थियो भने हाल आएर माथिल्लो भागमा देखिएको छ । अहिले हुम्डे, पिसाङ, माथिल्लो मनाङमा बस्तीहरूमा क्षति पुर्याउदै गएको जनाइएको छ । (रासस)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया