१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी

काठमाडौँ- सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल पर्यटक बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपकराज जोशी थिए ।जोशीको कार्यकाल सकिएसँगै विश्वभर कोरोना महामारी सुरु भयो । त्यसयता लगातार घटिरहेको विदेशी पर्यटकको सङ्ख्या यतिबेला भने बढ्दो क्रममा छ ।
सन् २०१९ को हाराहारीमा पर्यटक आइरहेका समयमा उनै जोशी दोस्रो कार्यकालका लागि बोर्डको नेतृत्वमा आएका छन् । तत्कालीन समयमा सीइओ जोशीको समन्वयकारी भूमिका र अन्तर्राष्ट्रिय बजारीकरणमा लिएको रणनीतिक कार्यक्रमले विदेशी पर्यटक आगमन बढेको थियो ।
आइतबार प्रदर्शनीमार्गस्थित बोर्डको कार्यालयमा पदबहाली गर्दै सीइओ जोशीले आफ्नो प्राथमिकता बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनुमा रहेको बताए । रासससँगको कुराकानीमा सीइओ जोशीले भने, “मेरो पहिलो प्राथमिकता विदेशी पर्यटकको सङ्ख्या बढाउने हो, त्यसका लागि व्यापकरुपमा अन्तर्राष्ट्रिय प्रवद्र्धन, मुख्य बजार र क्षेत्र पहिचान गरी प्रभावकारी प्रवद्र्धनमा केन्द्रित गर्नेछु ।” नवनियुक्त सीइओ जोशीले १६ लाख विदेशी पर्यटक ल्याउने सरकारी लक्ष्य पूरा गर्नेगरी काम गर्ने बताए । सरकारले चालु आबको बजेटमा उक्त लक्ष्य उल्लेख गरेको छ ।
सरकारले भ्रमण दशक कार्यान्वयन गर्दै ३५ लाख विदेशी पर्यटक भित्र्याउने योजना पनि अगाडि सारेको छ । सन् २०२३ देखि २०३१ लाई भ्रमण दशक मनाउने घोषणा गरेको छ ।
सीइओ जोशीले मुख्य गन्तव्यको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्ने तथा गुणस्तरीय पर्यटक भित्र्याएर गन्तव्य बजारीकरणमा ध्यान दिने उल्लेख गरे ।
पर्यटन क्षेत्रमा अध्ययन अनुसन्धान कम रहेको उल्लेख गर्दै उनले बजारको सम्भाव्यता र आगामी रणनीति बनाउने विषयलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपाल ‘टुरिजम स्टाटिस्टिक, २०२३’ का अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१७ मा नौ लाख ४० हजार २ सय १८ पर्यटक आएका थिए । साथै सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को पहिलो आठ महिनामा सात सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सीइओ जोशीले आफूले चार वर्षको स्पष्ट योजना बनाएर आएको र सोही आधारमा आफूले काम अगाडि बढाउने बताए ।
“मैले चार वर्षे रणनीतिको स्पष्ट खाका बनाएको छ”, उनले भने, “प्रत्येक वर्ष के काम गर्ने र त्यसपछि के उपलब्धि हासिल गर्ने भनेर स्पष्ट खाका बनाएको छु । त्यो छिट्टै सार्वजनिक गर्नेछु ।”
निजी क्षेत्रसँगको साझेदारी फराकिलो बनाएर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवद्र्धन गर्नुपर्ने सीइओ जोशीको पहिलो दायित्व रहेको छ । “मुख्य चुनौती दक्ष जनशक्ति नै हो नाथमलगायतका आतिथ्यतासम्बन्धी शैक्षिक संस्थासँग समन्वय र सहकार्य गरेर दक्ष जनशक्ति बढाउनेमा काम गर्नेछु”, उनले भने, “आन्तरिक व्यवस्थापनको सुधार पनि प्राथमिकतामा हुनेछ । कार्यविधि पारित नभएको, कर्मचारीको दक्षता अभिवृद्धि गर्नुपर्ने छ ।”
सीइओ जोशीले बोर्ड सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरुप काम गर्ने बताए । उनले आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताए ।
आफू दोस्रो पटक ठूलो जिम्मेवारीका साथ आएको उल्लेख गर्दै उहाँले कैयौँ चुनौती भए पनि सफलतापूर्वक काम गर्नेमा विश्वास व्यक्त गरे । “गन्तव्यको छवि खस्कँदो छ, यस क्षेत्रमा लगानी बढिरहेको र गतिविधि कम भइरहेको अवस्था छ । कोभिडअघिको अवस्थामा विदेशी पर्यटक आगमन पनि पुग्न नसकेको सन्दर्भमा निजी क्षेत्रसँगको सहकार्यमा प्रभावकारी प्रवर्द्धन आवश्यक छ”, सीइओ जोशीले भने ।
नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको यही भदौ २० गतेको ३७९औँ बैठकले बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको थियो ।
जोशीले यही २१ गते शुक्रबार बोर्डको अध्यक्ष समेत रहनुभएका पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेबाट सीइओ पदको नियुक्तिपत्र लिनुभएको थियो । को हुन् सीइओ जोशी ?
दुई दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सक्रिय जोशीले गोरखा भूकम्प, नकाबन्दीलगायत चुनौतीकाबीच पनि पर्यटन बढाउन र निजी क्षेत्रसँगको सम्बन्धलाई बलियो बनाउन भूमिका खेल्नुभएको थियो ।
प्यासिफिक एसिया ट्राभल एशोसियन (केन्द्र) मा डेस्टिनेसन कमिटि चेयर र विश्व पर्यटन सञ्जालका संस्थापक कार्यकारी सदस्य समेत रहनुभएका जोशीले ‘च्याम्पियन इन च्यालेन्ज’, ‘पर्यटन हिरो’, एसियाका राष्ट्रिय पर्यटन संस्थामध्ये सर्वोत्कृष्ट सीइओ, पाटा पर्सनालिटि अफ द इयर, नाटा पर्सनालिटी जस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भइसक्नुभएको छ । जोशीले नेपाल उद्योग परिसङ्घमा महानिर्देशकका रुपमा पनि सेवा गरिसक्नुभएको छ । -रासस

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया