मंगलबार २० साउन, २०८२
Tuesday, August 05, 2025

पश्चिम सुर्खेतमा मोबाइल शिविर सञ्चालन हुने

तस्बिर : सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै मन्त्री बुढाक्षेत्री ।

सुर्खेत : पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत कर्णाली प्रदेश सरकारले विशेषज्ञ सेवा दिने उद्देश्यले ‘मोवाइल शिविर’ सञ्चालन गर्ने भएको छ । प्रदेश राजधानीको ठाउँ भएपनि पश्चिम सुर्खेत स्वास्थ्य क्षेत्रमा पछाडी परेकाले शिविर सञ्चालन गरिने सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बताए । 

उनले असार १५ गतेबाट विशेषज्ञ सेवासहितको मोवाइल शिविर सञ्चालन गरिने बताए । स्वास्थ्य सामाग्री वितरण गर्न पश्चिम सुर्खेतको सालकोट पुगेका मन्त्री बुढाक्षेत्रीले पश्चिम क्षेत्रको स्वास्थ्य अवस्था सुधारका लागि लागिपर्ने बताएका हुन् ।

‘सामान्य बिरामी हुँदा पनि पश्चिम सुर्खेतका नागरिकहरु सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता छ’ मन्त्री बुढाक्षेत्रीले भने, ‘पश्चिमका नागरिकहरुलाई घर आँगनमै सेवा दिने उद्देश्यले असार १५ बाट मोवाइल शिविर सञ्चालन गर्ने तयारीमा छौ ।’ वर्षातको समय भएकाले असार र साउनमा महिनामा दुई पटक कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सेवा दिनेछन् । भदौबाट साप्ताहिक सेवा सुरु गरिने उनले जानकारी दिए । 

मन्त्री बुढाक्षेत्रीले सालकोटलाई पश्चिमको ‘स्वास्थ्य हब’ का रुपमा विकास गरिने बताए । ‘त्यसको सुरुवात यहीँ १५ गतेबाट हुँदैछ,’ उनले भने, ‘असार र साउनमा महिनाको दुई पटक र भदौबाट साप्ताहिक विशेषज्ञ सेवा पु¥याइने छ ।’ उनले सालकोटबाटै पश्चिम क्षेत्रका नागरिकहरुले बालरोग, स्त्रीरोग, नाक, कान र घाँटी, फिजिसियनलगायतका सेवाहरु पाउने बताए । 

उनले सालकोट स्वास्थ्य केन्द्रलाई औषधि र उपकरण सम्पन्न बनाउनका लागि पनि पहल भइरहेको बताए । ‘विशेषज्ञ सेवाका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण र औजारहरु चालू आर्थिक वर्षभित्रै खरिद गर्दैछौं’, उनले भने, ‘भौतिक पूर्वाधार निर्माण र थप उपकरणहरु आगामी आर्थिक वर्षमा खरिद गर्ने योजना मन्त्रालयले बनाएको छ ।

सालकोट स्वास्थ्य चौकी चौकुने, बराहताल गाउँपालिकाका साथै पञ्चपुरी नगरपालिकाको केन्द्र हो । सालकोटमा विशेषज्ञ सेवा सुरु भएपछि छिमेकका अछाम र कैलालीका नागरिकहरुले पनि सहज स्वास्थ्य सेवा पाउने छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले पश्चिम सुर्खेतका नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताए । उनले मन्त्रालयले पश्चिम सुर्खेतका जनतालाई सहज सेवा पु¥याउन सालकोट स्वास्थ्य केन्द्रलाई प्राथमिकतामा राखेको बताए । तत्लो इकाईबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नीति सरकारले लिएको उनको भनाई थियो  । 

प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका प्रमुख डा. जीतेन्द्र यादवले सामान्य सल्यक्रिया पनि नहुँदा यो क्षेत्रका गरिव जनताहरुले सदरमुकाम वीरेन्द्रनगर र देशका अन्य स्वास्थ्य संस्थामा पुग्नुपर्ने बाध्यता रहेको बताए । उनले १५ शैय्याको अस्पतालको रुपमा स्तरबृद्धि भएपनि जनशक्ति र स्वास्थ्य उपकरण नहुँदा सो अनुसारको सेवा दिन नसकिएको बताए । 

तस्बिर ः
सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई औषधि र स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री ।