शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

प्रतिनिधि सभा विघटनविरुद्ध संवैधानिक इजलासमा बहस सुरु

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । ९ असारबाट नियमीत भइरहेको बहसमा अहिले सविता भण्डारीले बहस गरिरहेकी छन् ।

उनी रिट निवेदकतर्फकी कानुन व्यवसायी हुन् । 

इजलासले रिटमा बहस गर्ने कानुन व्यवसायीको सूची लामो देखेपछि दुवै पक्षलाई समय तोकेरै बहस गर्न दिएको थियो । इजलासले तोकेको समयानुसार अब रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालगायत १४६ सांसदको रिटमा अब रिट निवेदकतर्फबाट जम्मा दुई घण्टा ३५ मिनेट बहस गर्ने समय बाँकी छ ।

त्यसपछि सरकारका तर्फबाट बहस हुनेछ । अहिलेसम्म रिट निवेदक पक्षबाट ९ घण्टा २५ मिनेट बहस भइसकेको छ । सुरुमा रिट निवेदक पक्षलाई १२ घण्टा बहस गर्ने समय इजलासले दिएको थियो । 

रिट निवेदकको बहस सकिएपछि राष्टपति र प्रधानमन्त्री पक्षका अधिवक्ताहरूले बहस गरिसकेपछि फेरि रिट निवेदकका तर्फका कानुन व्यववसायीलाई थप ३ घण्टा बहस गर्न दिने गरी समय निर्धारण गरिएको छ । सरकार र रिट निवेदकलाई इजलासले १५/१५ घण्टाको समय छुट्टयाएको छ । 

दुवै पक्षको बहस सकिएपछि इजालसले सहजीकरणका लागि गठन गरेको एमीकस क्यूरीका चार अधिवक्ताले आधा घण्टाका घरले बहस गर्नेछन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा ३० रिट दर्ता भएका थिए ।