हिरासतमा रहेका पाकिस्तानी सांसदहरूलाई संसद्मा उपस्थित हुन अनुमति
काठमाडौँ - जेलमा रहनुभएका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा प्रदर्शन गरेपछि नयाँ विरोध कानुनअन्तर्गत हिरासतमा लिइएका धेरै पाकिस्तानी सांसदलाई बिहीबार संसद्मा उपस्थित हुन अनुमति दिइएको छ ।
यसै साता १० सांसदलाई पक्राउ गरिएको थियो । तीमध्ये केहीलाई राजधानी इस्लामावादमा नेसनल एसेम्बलीमा उनीहरूको कार्यालयबाट पक्राउ गरिएको थियो । उहाँहरूमाथि मङ्गलबार एक साता पुरानो विरोध कानून र आतंकवाद विरोधी ऐनअन्तर्गत आरोप लगाइएको थियो ।
उनीहरूलाई आठ दिनका लागि हिरासतमा पठाइएको थियो तर सभामुखले हिरासतमा फर्कनुअघि संसद् अधिवेशनमा उपस्थित हुन अनुमति दिइनुपर्ने आदेश दिएपछि बिहीबार धेरै सांसद संसद्मा उपस्थित भए ।
“म सभामुखलाई प्रोडक्सन आदेशका लागि धन्यवाद दिन्छु”, बढ्दो राजनीतिक वातावरणलाई लिएर सांसद शेर अफजल खान मारवतले सदनमा भने, “विधानसभाको तल्लो तहमा घृणाले सिंगो मुलुकलाई असर गरिरहेको छ ।”
पूर्वप्रधानमन्त्री खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका हजारौँ समर्थक आइतबार राजधानी इस्लामाबादमा भेला भएको एक जुलुसलाई तितरबितर पार्न असफल भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्नुपरेको थियो ।
अधिकारीहरूले जुलुसका लागि अनुमति दिएका थिए तर जुलुसलाई निर्धारित समयमा समाप्त गर्न आदेश दिएका थिए । साथै उनीहरूले खानको पिटिआई पार्टीका समर्थकहरूले सम्झौताका शर्तहरूको उल्लंघन गरे कानूनी कारवाही गरिने चेतावनी दिएका थिए ।
सरकारले सार्वजनिक जमघटलाई नियमन गर्ने नयाँ कानून पारित गरेपछि यो पहिलो प्रदर्शन थियो । नयाँ कानुनका बारेमा अधिकार समूहहरूले विरोधलाई दबाउन कानून बनाइएको बताएका छन् ।
पूर्वक्रिकेट खेलाडी खान गत वर्ष अगस्टमा धेरै आरोपमा जेल गएपछि पार्टीले व्यापक आलोचनाको सामना गर्नुपरेको छ । खानले ती आरोप राजनीतिबाट प्रेरित भएको र आफूलाई सत्ताबाट टाढा राख्न डिजाइन गरिएको बताएका छन् ।

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

प्रतिक्रिया