शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

पौडेल र सिटौलालाई मिलाउने नेतृ कोइरालाको प्रयास

तस्बिर : सुजाता कोइरालाको फेसबुकबाट

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई मिलाउने प्रयास गरेकी छन् । आज आफ्नै निवास मण्डिकाटारमा बिहानको खानासहितको बैठक राखेर दुवै नेतालाई मिलाउने प्रयास गरेकी हुन् । 

दिउँसो एक बजेबाट सुरु भएको ‘लञ्च मिटिङ’ दुई घण्टाबढी चलेको थियो । स्रोतका अनुसार बैठकको सुरुवात गर्दै नेतृ कोइरालाले अब जसरी भएपछि शेरबहादुर देउवा र वर्तमान संस्थापनबाट पार्टी नेतृत्व फुत्काउनु पर्ने भन्दै मिल्न आग्रह गरेकी थिइन् । जवाफमा नेताहरूले आफूहरू प्रयासमा रहेको बताएका थिए । 

महाधिवेशनमा सभापति देउवाले नेतृत्वमा दोहोरिन प्रयास सुरु गरेपछि संस्थापनइतर समूहबाट सहमतिका लागि प्रयास भइरहेका छन् । संस्थापन इतरबाट सहमतिमा नेतृत्वका लागि उम्मेद्वारी चयन गर्न कोइरालाले पौडेल र सिटौलालाई बोलाएकी हुन् । 

नेतृ कोइरालाले आफूले ‘लञ्‍च मिटिङ’ बोलाएको जानकारी दिइन् । ‘कांग्रेस अहिले जर्जर अवस्थामा छ । यसबाट रेस्कयू गर्नुछ । त्यसका लागि निरन्तर बहस र छलफलमा छौँ,’ उनले भनिन् ।

नेतृ कोइराला पनि आफै सभापातिको उम्मेद्वार बन्ने बताइरहेकी छन् । नेता पौडेलले पनि अन्तिम पटकका लागि सभापति बन्ने इच्छा राखेका छन् । कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौला नेतृत्वबारे मौन छन् ।

यसअघि बिहानमात्रै सभापतिका दाबेदार डा. शेखर कोइरालाले नेता पौडेललाई भेटेका थिए । 

उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भावी नेतृत्वबारे दुई पटक छलफल गरिरहेका छन् । सभापति देउवाले आफू निकटका सातै प्रदेशका पदाधिकारी तथा सदस्यहरूसँग आफू नेतृत्वमा पुनः दोहोरिने भन्दै सघाउन आग्रह गरिसकेका छन् ।