अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ भित्रिए

काठमाडौँ - त्रिभुवन राजपथ अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए । उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए ।
“आजदेखि काठमाडौँ उपत्यकाबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरने छन्”, उनले भने, “मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ ।”
आजै दिउँसो गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका थिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बाढीपहिरो, डुबान तथा विपद्मा भइरहेको उद्दार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका थिए ।
“आज साझँसम्म काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरूको उद्धार भइसक्छ”, प्रवक्ता तिवारीले भने, “अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्धारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरुको उद्धार गरिरहेको छ ।”
प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा सामान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । “अबरुद्ध सडक खुल्ने र खुलाउने क्रम जारी छ”, उनले भने, “अझै पहिरोलगायत जोखिम टरिसकेको छैन ।”
अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ । “रोशी गाउँपालिकालगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण पनि हुँदैछ”, प्रवक्ता तिवारीले भने, “घाइतेहरुको उद्धार र उपचार निःशुल्क भइरहेको छ ।”
रासस

प्रेम फ्याकद्वारा महेन्द्रोदय माविको अक्षयकोषमा एक लाख ५० हजार रूपैँया प्रदान

पहिरो पन्छाउने प्रयास नगरेपछि वडा कार्यालयमा तालाबन्दी

रोटरी ई–क्लब र रोटरी क्लब अफ काठमाडौं हाइटको संयुक्त वृक्षरोपण कार्यक्रम सम्पन्न
शुक्लाफाँटा निकुञ्ज पाटेबाघका लागि प्रख्यात

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

राशिफलमा हेर्नुहोस् तपाईंको भाग्य

प्रतिक्रिया