विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ - हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि पहिरोबाट विस्थापित भएको छ । उनको परिवार हाल नजिकैको चर्चमा बसिरहेको छ । यही असोज–१२ गतेको पहिरोले घर बगाएपछि विस्थापित उहाँको परिवारलाई स्थानीय बासिन्दा तथा प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।
अविरल वर्षासँगैको पहिरोबाट विस्थापित उहाँको परिवारलाई तत्काल खाने बस्ने व्यवस्था नगरपालिका र वडा कार्यालयले गरेको छ । घरमाथिबाट खसेको पहिरोले ढुङ्गामाटोको तीन तले घरसँगै घरमा भएका सबै सामग्री बगाएपछि चार छोराछोरीसहित छ जनाको परिवार पूर्णरुपमा विस्थापित भएको हो ।
असोज–१२ गतेको पहिरोले उनको जस्तै जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने ३३ परिवार घरवारविहीन भएका छन् । बाढीपहिरोबाट विस्थापित उनीहरुलाई सम्बन्धित स्थानीय तहले तत्कालका लागि राहत त उपलब्ध गराएको छ तर सधैँ उपलब्ध गराउन सक्ने अवस्था छैन ।
बाढीपहिरो पीडित परिवारका लागि यसवर्षको चाडपर्व खल्लो भएको छ । उनीहरुका लागि सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री उपभोग गरिसकेपछि के खाने, के लाउने भन्ने टुङ्गो छैन ।
बाढीपहिरोले जिल्लामा ठूलो क्षति पु-याएको जिल्ला विपद् व्यवस्थापन समिति खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । उनले भने, “चाडपर्व लक्षित गरी अवरुद्ध सडकहरु पुनःसञ्चालनमा ल्याउन पहल गरिरहेका छौँ । तर, दसैँअघि सञ्चालनमा आउने सम्भवना कम देखिन्छ । यद्यपि, सम्बन्धित निकायलाई खबरदरी गरिरहेका छौँ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका राजकुमार राईका चार छोरा र दुई छोरी छन् । जेठा छोरा गाईघाट, जेठी छोरी धरान तथा माहिला, कान्छा छोरा र कान्छी छोरी काठमाडौँ बस्छन् । साहिला वैदेशिक रोजगारीमा छन् । उनीहरुमध्ये कान्छोले मात्रै दशैँमा बुबाआमाको हातबाट टीका थाप्न पाउने भएका छन् । कान्छो छोरो प्रदीप असोज–१२ गते अघि नै घर आएका थिए ।
सडक तथा पुल बगाएपछि छोराछोरीहरु यस वर्ष चाड मान्न घर आउन नपाएको दीपेन्द्रले बताए । बाढीपहिरोबाट जिल्लामा सञ्चालित विकासे योजनाबाहेक मानिसका घरमा भएको क्षति मात्र रु एक करोडभन्दा बढी मूल्य बराबरको भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
चाडको समयमा आएको यो वर्षको बाढीपहिरोले जिल्लामा व्यापार/व्यवसायमा असर परेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए । “चाडपर्वको अवसरमा करोडौँको व्यापार हुनुपर्ने हो । धेरै मानिस बाटोको कारण आउनै सकेनन् । अधिकांश युवापुस्ता बाहिरी जिल्लामा बसोबास गर्छन् । घरमा बुढापाकामात्र छन्”, उनले भने, “सहर गएका छोराछोरी आउन नपाएपछि बुढापाकामा चाडपर्वको उमङ्ग छैन । छोराछोरी घर आउन नपाएपछि बुढापाकाले केका लागि सामान खरिद गरोस् र हाम्रो व्यापार होस् ।”
बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ ।
वर्षाका कारण अवरुद्ध जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवा भञ्ज्याङ सडकखण्ड भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ । रासस

सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ पोखरामा भेटिए, नाम पुष्टि हुन बाँकी

नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ

ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

मिथिलामा ‘झुला’ पर्व सुरु

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

दाजुको हत्या गरी फरार युवक पक्राउ

ट्राफिक नियम नमान्दा गन्तव्यमा नपुग्दै गुम्छ जीवन

प्रतिक्रिया