कार्यकर्ता पोस्न गण्डकी सरकारले गर्याे १६ करोड रकमान्तर !

पोखरा : चालु आर्थिक वर्ष सकिन १४ दिन बाँकी छ । यस आर्थिक वर्षमा सम्पन्न योजनाका भुक्तानी गर्नुपर्ने बेलामा प्रदेश सरकारले १३० नयाँ योजनाका लागि भन्दै १६ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थ मन्त्रालय सम्हालिरहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार ती नयाँ योजना र बजेटसम्बन्धी निर्णय गरेका हुन् ।
मुख्यमन्त्रीले शुक्रबार सत्ता साझेदार दलसँगसहमति गर्दै २ मन्त्रीलाई जिम्मेवारी दिएका थिए । सत्ता गठबन्धनका साझेदार दल, तिनका सांसद अनि आफ्ना र उनीहरुको कार्यकर्ता खुसी पार्ने गरी मुख्यमन्त्रीले नयाँ योजना थपेर बजेट व्यवस्था गरेको स्रोत बताउँछ ।
मुख्यमन्त्री पोखरेलले दिएका १३० योजनाका सूचीमध्ये ८३ आयोजना भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका छन् । ती सबै योजना चालु आर्थिक वर्षको बजेटको रातो किताबमा समावेश छैनन् । यसरी आर्थिक वर्ष सकिनै लाग्दा मुख्यमन्त्री पोखरेलले ठूलो बजेट रकमान्तर गरेका हुन् ।
प्रदेशको आर्थिक कार्यविधि ऐनले रातो किताब बाहिरका योजनामा रकामान्तर गर्न नमिल्ने व्यवस्था गरेको छ । रकमान्तर गर्नै परे एउटा योजनाको २५ प्रतिशतसम्म मात्र रकामान्तर गर्न सकिने व्यवस्था छ ।
‘आर्थिक वर्ष सकिनै लाग्दा यसरी नयाँ योजनालाई रकमान्तर गर्न भनियो । यो वर्ष गरिएका कामकै भुक्तानी गर्नुपर्ने छ । नयाँ योजनालाई रकमान्तर गरेर कसरी पु¥याउने ?’ अर्थ मन्त्रालयका एक कर्मचारीले भने । आफूहरुले अहिले रकमान्तर गर्न नमिल्ने र गरेपनि नयाँ योजना सम्पन्न नहुने भएकाले बेरुजु बढ्ने कुरा सम्झाउँदा पनि मुख्यमन्त्रीले नमानेको ती कर्मचारी बताउँछन् ।
प्रदेश लेखा नियन्त्रक इन्द्रप्रसाद पौडेलले यसरी रकामान्तर गर्नु ‘हेल्दी प्राक्टिस’ नभएको बताउँछन् । आफूले यसबारे धेरै बोल्न नमिल्ने र सम्बन्धित निकायले काम गर्न सक्ने बताएपछि मुख्यमन्त्रीले रकामान्तर गरेको हुन सक्ने उनी बताउँछन् । ‘बजेटको डिसिप्लिन होइन यो, हेल्दी प्राक्टिस देखिएन । त्यही पनि सम्बन्धित निकायले काम गर्न सक्ने आधारमा पठाइएको होला,’ पौडेलले भने ।
अर्थ सचिव रमेश केसी सबै रकम दुरुपयोग हुन्छ भन्न नसकिने दाबी गर्छन् । ‘सबै दुरुपयोग हुन्छ भन्न मिल्दैन, जनताकै मागका आधारमा पनि गरिएको हुनसक्छ,’ उनले भने ।
तर कार्य सम्पादन गर्ने भौतिक मन्त्रालयका कार्यालय प्रमुखहरु भने आफूहरुले १० दिनमा काम गर्न नसक्ने प्रतिक्रिया दिएका छन् । भौतिक पूर्वाधार कार्यालय गोरखाका प्रमुख दयाराम अधिकारीले सरकारलाई आफूहरुले १० दिनमा काम गर्न नसक्ने बताउँदा बताउँदै पनि बजेट पठाइदिएको बताउँछन् । त्यो बजेटलाई कार्यान्वयन गर्न नसकिने उनको भनाइ छ ।
‘बजेट पठाइएको छ । कहिले सम्झौता गर्ने, कहिले स्वीकृत गर्ने, कहिल टुङ्ग्याउने ? उहाँहरुलाई नपठाउनुहोस् काम हुँदैन भनेका हौं, तर मान्नुभएन,’ अधिकारीले भने । काम सकिएका आयोजनाको भुक्तानीकै प्रक्रिया टुङ्ग्याउन भ्याइनभ्याइ भएका बेला गर्नै नसकिने गरी योजना पठाइएको उनले बताए । ‘अब टाइम छैन, भन्दाभभन्दा थाक्यौं, भर्खरभर्खर आउनुभएको यति पा¥यौं भन्ने देखाउन पठाउनु भएको होला,’ उनले भने ।
यसरी पठाइएको रकमले उपभोक्तालाई नै मार पर्ने उनले बताए । काम पनि पूरा नहुने, भुक्तानी पनि पाउने अवस्था नरहने भएकाले उपभोक्ता नै मारमा पर्ने उनको तर्क छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले चालु आर्थिक वर्षको भुक्तानी गर्न २५ गतेको समयसीमा दिएकाले १० दिनमा काम थालेर सक्न नसकिने उनले बताए ।
गठबन्धनको सरकारले चालु आर्थिक वर्षकै बजेटबाट कार्यकर्ता पोस्न खोजेको पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत बताउँछन् । भौतिक पूर्वाधार मन्त्रालयले पुरानै आयोजनाका २ अर्ब ६६ करोड रकम भुक्तानी गर्नुपर्ने भएपनि नयाँ योजनालाई रकामान्तर गर्नु आर्थिक कार्यविधी ऐन विपरीत रहेको बस्नेतले बताए । ‘सिधै स्थानीय तहलाई रकम दिने काम गरेका छन् । अनियमितता, असारे बजेट र कार्यकर्ता पोस्नका लागिमात्र यो गरिएको हो,’ बस्नेतले भने, ‘विकास निर्माणमा इन्टरेस्ट छैन । लुट्ने, खाने गठबन्धनको झुण्ड हो भनेर प्रमाणित गर्छ ।’
प्रदेश सरकारको चालु आर्थिक वर्षमा चालुतर्फ १४ अर्ब १४ करोड र पुँजीगततर्फ २० अर्ब ३८ करोड बजेट विनियोजन गरेको थियो ।असार पहिलो सातासम्म गण्डकीमा पुँजीगततर्फ १० अर्ब ४० करोड (४७.८७ प्रतिशत) र चालुतर्फ ५ अर्ब ६० करोड (३९.९९ प्रतिशत) खर्च भइसकेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया