शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

जेठ २ मा फर्किने एमाले स्थायी कमिटीको निर्णय, आज दशौँ महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

काठमाडौँ : नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । बालुवाटारमा मंगलबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले  महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । बैठकले सो केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने निर्णयसमेत गरेको छ ।

बैठकले नेपालको पछिल्लो राजनीतिक अवस्था गम्भीर र संकटपूर्ण देखिएको निष्कर्षसमेत निकालेको ज्ञवालीले जानकारी दिए ।

त्यस्तै एमालेको आज दशौँ महाधिवेशन आयोजक कमिटी बैठक बस्दैछ । मंगलबारसम्‍म बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई बोलाइएको छैन । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ११ नेतालाई नबोलाइएको जानकारी दिए ।

१८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने सचिव तामाङले इकागजलाई जानकारी दिए ।