बुधबार २० चैत, २०८१
Wednesday, April 02, 2025

जल्दाबल्दा समस्याबीच ७९औं महासभामा नेपालको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले सेप्टेम्बर २६ मा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेपछि नेपाललगायत अन्य अति कम विकसित राष्ट्रहरूको साझा समस्या, शक्ति राष्ट्रहरूको दृष्टिकोण र मूलतः नेपालको परराष्ट्र नीति र छिमेक सम्बन्धका बहुआयामिक पाटोमा नयाँ ढङ्गले बहस प्रारम्भ भएको छ । तर यस विषयवस्तुको केन्द्रीयतामा घनिभूत छलफल हुनुभन्दा परिधिमा बढी छरपस्टिएको छ ।

नेपाली कूटनीतिक वृत्तमा पनि विषय वस्तुको गहिराइमा पुगेर आलोचना-प्रतिआलोचनात्मक दृष्टिकोण व्यक्त गर्नेभन्दा पनि आग्रह र पूर्वाग्रहपूर्ण बहस प्रारम्भ भएको छ । यद्यपि यस किसिमका बहसले न त नेपालको  बौद्धिकवृत्तमा कुनै रचनात्मक योगदान पुर्‍याउन सक्छ न त अन्तर्राष्ट्रिय जगत्‌मा देशको स्वर मुखरति हुन सक्छ ।

बढ्दो विश्व राजनीतिको जटिल र अस्थिर चपेटामा परिरहेको वर्तमान परिवेशमा विश्वभरिका राष्ट्र प्रमुख, सरकार प्रमुख एवं प्रतिनिधिहरूको जमघटबाट राष्ट्रसंघ महासभामार्फत् मुखरित हुने विचार र व्यवहारले वर्तमान र भावी पुस्ताका निम्ति नयाँ विश्वासको दियो बाल्ने अपेक्षा  गरिएको हुन्छ ।

साथै त्यस किसिमको आकांक्षा महासभामा अभिव्यक्त भएका विचार र त्यसपछि गरिने शक्ति राष्ट्रहरूको व्यवहारले आम मनोभावनालाई प्रतिबिम्ब गर्न सके कि सकेनन् त्यो विषय सधै विचारणीय हुन्छ । यद्धपी विश्व समुदायका प्रमुख नेतहारूका जमघटबाट निसृत हुने विचारले यस पटक न त रुस-युक्रेन  युद्धका विविध आयाम र असरबारे गम्भीर बहस भएर यसको अन्त्यका निम्ति ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त भए न त हमास-गाजा युद्धको अन्त्यबारे घनिभूत छलफल भए ।

यसैगरी विश्व समुदायलाई अत्यन्तै चिन्ताजनक रूपमा विकसित भएको जलवायु परिवर्तनको असर धनी र गरिब राष्ट्रहरूबीच तीव्र गतिमा चुलिँदै गएको आर्थिक विभेद अन्त्य गर्न कम विकसित राष्ट्रहरूले भोग्नु परेका अभाव र चौतर्फी संकटको समाधानका निम्ति कुनै विशेष राहतका प्रतिबद्धता व्यक्त भए ।  त्यसबाट विश्व समुदायको ठूलै पङ्क्ति  अपेक्षाकृत रूपमा सकारात्मक र आशावादी बन्न सकेनन् । लाखौं निहत्था जनताको मृत्यु र आक्रमण कुनै शक्ति राष्ट्रको होडबाजी र प्रतिष्ठाको विषय बन्दा पनि यस विषयमा शक्ति राष्ट्र मौन प्रायः रह्यो ।

संयुक्त राष्ट्रसंघ स्वयंले पनि जारी युद्ध रोक्न खासै कुनै त्यस्तो पहलकदमी लिन सकेको देखिएन । विश्व राजनीतिक परिदृष्यमा संयुक्त राष्ट्रसंघको गठन, विकास र भूमिका अद्वितीय थियो र अहिले पनि यसको सान्दर्भिकता थप बढेको छ । तर यावत् समस्या समाधानका निम्ति पहलकदमीबाटै त्यसको व्यावहारिक चरितार्थ हुनु पर्दछ त्यो कति बञो समीक्षाको विषय हो ।

कुनै सभा सम्मेलनको औचित्य त्यस सभा सम्मेलनमा अभिव्यक्त विचार र सार्वजनिक दस्तावेज र प्राज्ञिक मन्थन जुनकुनै अध्ययन र अनुसन्धानका निम्ति आफैमा महत्त्वपूर्ण हुन्छन् तर ती जति जनजीविकाका सवालसँग प्रत्यक्ष जोडिन्छन् त्यति नै जीवन्त हुन्छन् । यस पाटोमा चाहे शक्ति राष्ट्र होउन् अथवा कमशक्ति राष्ट्र, सबैको ध्यान त्यसतर्फ केन्द्रीकृत हुनुपर्छ ।

रुस-यक्रेन युद्धलाई नेटो र गैरनेटो शक्तिबीचको कूटनीतिक खेल बनाएर चाहे रुसका होउन् या युक्रेनका निहत्था जनतामाथि गरिने बमवर्षा र आक्रमण कदापि स्वीकार्य हुन सक्दैन । साथै मानव सभ्यतामाथिको निर्लज्ज आक्रमण हमास-प्यालिस्टाइन युद्धको पनि कुनै पुष्टि गर्ने आधार देखिँदैन । 

यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु भएका विचार उहाँका व्यक्तिगत चाहना उत्कण्ठा र आग्रह मात्र होइन कि नेपालजस्ता अति कम विकसित राष्ट्रहरूको सामूहिक आवाज पनि हो र एक हदसम्म पीडाको प्रतीकात्मक प्रतिबिम्ब पनि हो । कुनै पनि समस्याको समाधान द्वन्द्व आक्रमण नभएर शान्तिपूर्ण कूटनीतिक छलफल नै हो भन्ने त्यस सम्बोधनको मुख्य ध्येय हो ।

त्यसैगरी नेपाललगायतका अति कम विकसित मुलुकहरूको साझा समस्यालाई मुखरित गर्ने क्रममा उनले अभिव्यक्त गरेका विचार  अझ त्यसमा पनि पनि नेपालजस्तो भूपरिवेष्ठित राष्ट्र भएकाले थप पीडा भोग्न बाध्य छ भनेर विश्व समुदायका बीच विषयवस्तुलाई उठाइरहँदा नेपाल प्राकृतिक जोखिमको दृष्टिले अत्यन्त संवेदनशील रहेको र त्यस किसिमको प्राकृतिक विपत्तिबाट जोगिन र थप जोखिम न्यूनीकरण गर्न सहयोगको अपेक्षा गरिरहेकै बेला नेपालमा ठूलै राष्ट्रिय विपत्ति आइपर्‍यो । जसले प्राकृतिक विपत्तिका घटनालाई जहिले जहाँ पनि आउन सक्छ र यो विश्का सम्पूर्ण चराचर जगत्को साझा समस्यालाई प्रकटित गरेको छ ।

नेपाल जस्तो भूपरिवेष्ठित देशले प्राकृतिक विपत्तिको सामना गरिरहँदा अमेरिका जस्तो महाशक्ति राष्ट्रले पनि मिल्टन हुरिकेनको झड्काले ठूलै जनधनको क्षति व्यहोर्नु पर्‍यो । यसबाट के पुष्टि हुन्छ भने प्राकृतिक विपत्तिको प्रकार र स्वरूप फरक भए पनि त्यसबाट हुने मानवीय तथा भौतिक क्षति समान हुन्छन् । यसलाई न्यूनीकरण गर्नाका निम्ति एक विश्वसनीय र उत्त्तरदायी विश्व संरचनाको आवश्यकतालाई तीव्र रूपमा अपेक्षित हुन्छ । यसतर्फ संयुक्त राष्ट्रसंघलगायत अन्य विश्व समुदायले ध्यान दिनुपर्ने बेला आइसकेको छ ।

संसारभरि नै हाल बढ्दै गइरहेको आर्थिक विभेद र त्यसबाट सृजित अस्थिर पुँजी र विश्व व्यापारले मानिस-मानिसबीचमा अभेद्य खाडल सृजना गरेको छ । यो अवस्थाको निरन्तर विकास हुनु आफैमा बिडम्वना हो भने विकसित भनिएका शक्ति राष्ट्र र जनताका निम्ति सुरक्षा पनि चुनौती हो ।

यसको समयमै समाधान गर्नुपर्ने विश्व समुदायको साझा संकल्प र व्यवहार अपेक्षित छ । तर  यस्ता वैश्विक समस्यामा शक्ति राष्ट्रहरू भन्दा शक्तिहीन अति कम विकसित राष्ट्रहरू बढी संवेदनशील देखिन्छन् । तर ती राष्ट्रहरूले यस्ता जल्दाबल्दा विषयमा कुनै प्रभाव पार्न नसक्नु आजको विरोधाभाषपूर्ण बिडम्वना हो ।

उपयुक्त आधारमा विश्लेषण गर्दा यस पटकको महासभाले विकसित घटनाक्रम र आम जनचासोलाई सशक्त ढङ्गले सम्बोधन गर्न अझ बढी प्रयत्नशील हुनुपर्ने देखियो । विशेषतः कमजोर राष्ट्रहरूको चासो र आम विश्वासलाई पनि यस महासभाका विभिन्न सत्रका छलफल पनि बढी प्राविधिक र नियोजित विषयवस्तुमै केन्द्रित रहे जसबाट जल्दाबल्दा टड्कारा समस्याहरू यथावत नै रहे ।