मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

निर्वाचनमा राजनीतिक विचार बोकेका पार्टीलाई निर्वाचित गर्न महासचिव पोखरेलको आह्वान

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले काठमाडौँमा हुने उपनिर्वाचनमा राजनीतिक बिचार बोकेका पार्टीलाई निर्वाचित गर्न आह्वान गरेका छन् ।

पछिल्लो समय केही क्षेत्रमा लोकप्रिय भएको मान्छे राजनीतिमा आउनुपर्छ भन्ने मान्यता स्थापित भएको र केही स्थानमा त्यस्तै व्यक्ति निर्वाचित भएकाले समाजमा सास्कृतिक मूल्य र मान्यताको विघटन तीव्र गतिमा भइरहेको उल्लेख गरेका छन् ।

संगठित संस्थाले मात्र राजनीतिलाई डोर्याउने भएकाले अब काठमाडौँमा हुने उपनिर्वाचनमा यस्तो कुरालाई ध्यान दिन मतदातालाई आह्वान गरेका छन् । शुक्रबार अखिल नेपाल महिला सङ्घ काठमाडौंले आयोजना गरेको “नारी सङ्कल्प“ विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले सामाजिक अराजकता विकास र समृद्धिको बाधक रहेको बताएका छन् ।

कसैको चर्को विरोधको कारण लोकप्रियता हासिल गरेर राजनीतिक क्षेत्रमा आउँदा अराजकता बढेको उनको भनाई छ ।

विचारको आधारमा होइन लोकप्रियताको आधारमा राजनीति त चल्छ भन्ने मान्यताले समस्याको समाधान नहुने भन्दै उनले राजनीतिले मात्र समाजको समस्या समाधान गर्ने बताए ।

महासचिव पोखरेलले राष्ट्रलाई अहिलेको चुनौती र संकट बाहिर निकाल्न सरकार प्राथमिकता रहेको बताउँदै पार्टीलाई निर्णायक शक्ति बनाउनका लागि पार्टीमा महिलाहरूको आवश्यकता रहेको धारणा राखे ।

कार्यक्रममा नेकपा एमालेका नेताहरुले लेखेका बिचार सहित महिलाहरूको रचना समेटिएको नारी संकल्प नामको पुस्तक विमोचन गरिएको थियो । अनेमसंघका अध्यक्ष टुका हमालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य बिन्द्रा पाण्डे लगायतका नेताहरूले पुस्तक विमोचन गरेका थिए ।

अनेमसंघ अध्यक्ष हमालले नारी सङ्कल्पको अध्ययनले राजनीतिमा चासो राख्नेहरूका लागि बिचार बनाउन आधार मिल्ने बताइन् । पुस्तकमा अध्यक्ष हमालले संविधानमा महिलाको हक प्रभावकारी कार्यान्वयन, नेपाली महिला आन्दोलनमा अनेमसंघ यसको उपलब्धि र भावी कार्यदिशा, विश्व महिला आन्दोलन र हाम्रो परिवेश, पार्टी र जनसंगठन बीचको सम्बन्ध लगायतका विषयमा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य विन्द्रा पाण्डे, भानुभक्त ढकाल, नेकपा एमाले महिला इन्चार्ज सीता पौडेल, लगायतले लेखेको जानकारी दिइन् ।