आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

वैज्ञानिकको हत्यामा इजरायलको सम्लग्‍नता रहेको इरानको दावी, बदला लिने चेतावनी

तेहरान : इरानका एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्याको आरोप इजरायलमाथि लगाउँदै राष्ट्रपतिले आफ्नो देशका पारमाणविक कार्यक्रमलाई कमजोर र सुस्त नबनाइने बताए । राष्ट्रपति हसन रौहानीले वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्याको इरानले उपयुक्त समयमा बदला लिने चेतावनीसमेत दिए । 

इरानको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउने प्रमुख व्यक्ति फख्रिजादेह नै भएको बताउँदै आएको इजरायलले त्यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । परमाणु वैज्ञानिक फख्रिजादेहको हत्यासँगै इरानको पारमाणविक कार्यक्रमलाई लिएर अमेरिका र उसका साझेदार मुलुकहरूसँग तनाव बढ्ने चिन्ता व्यक्त हुन थालेको छ ।

राजधानी तेहराननजिकै इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गरिएको त्यहाँको रक्षा मन्त्रालयले यसअघि पुष्टि गरेको थियो । दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । इरानका विदेशमन्त्री जवाद जारिफले ‘कुनै राज्यद्वारा गरिएको आतङ्कवादी काम’ भन्दै हत्याको निन्दा गरेका छन् । 

इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको बताउँदै प्रर्वद्धित युरेनियमको बढ्दो मात्रामा विकास गरिरहेको ताजा चासोबीच वरिष्ठ वैज्ञानिकको हत्या भएको हो । गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका लागि प्रवर्द्धिधत युरेनियम महत्वपूर्ण मानिए पनि इरानले यसलाई आफ्ना विरोधी मुलुकलाई लक्षित गर्नसक्ने आशङ्कासहित यूरेनियम प्रवद्र्धनलाई रोक्न अमेरिका लगायतका विश्वशक्ति राष्ट्रले इरानमाथि दवाव दिँदै आएका छन् । (एएफपी)