आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

स्याङ्जा - स्याङ्जाका तीन महिला क्रिकेटरलाई जनही रु एक/एक लाखका दरले पुरस्कार प्रदान गरिएको छ । उन्नाइस वर्षमुनिका उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै युएईमा सम्पन्न टि–२० महिला क्रिकेट प्रतियोगितामा सहभागी स्याङ्जाका तीन खेलाडीलाई बुधबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान गरिएको हो ।

शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदका क्षेत्रमा सक्रिय रहेका खुमा अर्याल फाउण्डेशनले उनीहरूलाई नगदसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको हो । 

कार्यक्रममा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ज्योत्सिना मरासिनी, पुतलीबजार–१३ की सिमाना केसी, कुसुम गोदार र स्याङ्जा क्रिकेट सङ्घका अध्यक्ष दिवाकर थापालाई पुरस्कार तथा सम्मान गरिएको संस्थाका सचिव ध्रुव शर्माले जानकारी दिए । संस्थाले छैटौँ स्थापना दिवसको सन्दर्भ पारेर बुधबार सम्मान गरेको हो । 

युएईमा भएको यु–१९ टि–२० महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्न सफल नेपाली टिममा स्याङ्जाका तीन जना महिला खेलाडी पर्न सफल भएका थिए ।