अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधारः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अनुसन्धानले लाखौँ मानिसलाई प्रभाव पार्ने भएकाले उच्चतम नैतिक मापदण्ड पूरा गर्नुपर्ने बताएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भइरहेको ‘फोरम फर इथिकल रिभ्यु कमिटी इन द एसिया एन्ड वेस्टर्न रिजन (फरक्याप)’ को २४औँ शिखर सम्मेलनको उद्घाटन सत्रमा उनले अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधार रहेको बताए ।
सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचारसंहिता विषयसँग सम्बन्धित विभिन्न विधाका विज्ञ, अनुसन्धानकर्ता, नीति निर्माता, प्राज्ञिक संस्थाका प्रतिनिधिलगायत करिब छ सय जना स्वदेशी तथा विदेशीहरूको भौतिक उपस्थिति रहनेछ । यसअवसरमा अनुसन्धान आचारसंहिताका विभिन्न पाटोमा उनीहरूबीच छलफल, बहस तथा प्रस्तुतीकरण गर्ने कार्यतालिका छ ।
नेपालमा पहिलोपटक आयोजना गरिएको यस सम्मेलनमा अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रिस, केन्या, ब्राजिल, भारत लगायतका २३ देशका विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनका लागि अनुसन्धान आचारसंहिताका विभिन्न विधामा ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतीकरणका लागि छनोट गरिएका छन् ।
तीमध्ये ६१ वटा अन्तर्राष्ट्रिय र २९ वटा राष्ट्रिय विज्ञहरूद्वारा प्रस्तुतीकरण गरिने आयोजकले जनाएको छ । परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले परिषद्को मुख्य उद्देश्य अनुसन्धानको नियमन गर्ने, असल अनुसन्धान संस्कारको विकास तथा विस्तार गर्न सम्मेलनले टेवा पु¥याउने बताए ।
मङ्सिर १२ गतेसम्म चल्ने सम्मेलनको पहिलो दिन अनुसन्धानको स्वीकृतिपछि अनुसन्धानकर्ता तथा आचारसंहिता पुनरावलोकन समितिमा भएका विज्ञहरूको भूमिकाबारे सहभागीलाई तालिम प्रदान गरिएको थियो । सम्मेलनमा अनुसन्धान आचारसंहिताका विभिन्न विषय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका, अनुसन्धानमा नवप्रवर्तनको विकाससँगै बढ्दै गएका चुनौतीका सम्बन्धमा आवश्यक पर्ने आचारसंहिताका सिद्धान्तबारे छलफल गरिने डा जोशीले जानकारी दिए ।
स्वास्थ्य अनुसन्धान र प्रविधिको निरन्तर विकाससँगै यस क्षेत्रमा हुने अध्ययन, अनुसन्धान, परीक्षण अत्यन्त जिम्मेवारीपूर्वक सञ्चालन गर्नु आजको महत्वपूर्ण आवश्यकता रहेको र सम्मेलनले विद्यमान चुनौतीको पहिचान तथा उचित सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने परिषद्ले विश्वास गरेको छ । रासस

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त

चिकित्सकले ‘मोबाइलको लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए
भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

प्रतिक्रिया