सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

कहिले ल्याउँछन् पूर्वगृहमन्त्री लामिछानेलाई काठमाडौँ ?

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने बयानका लागि हिजो काठमाडौँ ल्याइने भनिए पनि हवाई मौसमको खराब देखाउँदै ल्याउन सकिएको थिएन्।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि मंगलबार काठमाडौँ ल्याइने भनिए पनि स्थगित हुन पुगेको थियो ।

अब उनलाई आज या भोलि मात्र काठमाडौँ ल्याइने भएको छ । रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले पनि लामिछानेलाई बुधबार साँझ वा बिहीबा बिहान मात्रै काठमाडौँ ल्याउने जानकारी गराएका छन् । 

पोखरामा नै रहेका उनले फेसबुकमा लेखेका छन्– ‘कास्की प्रहरीले रवि दाइलाई बुधबार साँझ वा बिहीबार बिहान मात्र काठमाडौँ पठाउने भएको छ ।’

उनलाई यसबीचमा बयानका लागि पोखराबाट रुपन्देही लगिएको थियो । काठमाडौँमा भने लामिछानेविरुद्ध कालिमाटीमा मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको आरोप छ । लामिछानेलाई आइतबार मात्र कास्की जिल्ला अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

यसअघि कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । त्यसपछि कार्तिक २५ गते १३ दिनको म्याद थप भएको थियो ।  

लामिछानेविरुद्ध कास्की बाहेक रुपन्देही, काठमाडौँ र चितवन अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।