शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

तीनजना विद्यार्थीहरू ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत

भाषा विज्ञान नेपालको ४५ औं अन्तराष्ट्रिय सम्मेलनमा तीनजना विद्यार्थीहरू ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत भएका छन् ।

दर्शनाचार्य–विद्यावारिधि (एमफिल–पिएचडी)मा अध्ययनरत युवा भाषा वैज्ञानिकहरू मोहन गुरुङ, सिर्जना घिमिरे र नेह गर्ग ‘युवा भाषा वैज्ञानिक पुरस्कार–२०८१’को आवार्डबाट पुरस्कृत भएका हुन् । गुरुङ र घिमिरे त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग र गर्ग बनारस हिन्दु युनिर्भसिटीका विद्यार्थी हुन् ।

काठमाडौंमा सम्पन्न सम्मेलनमा अनुसन्धान लेखन र प्रस्तुतीकरणको आधारमा उनीहरू नगद १० हजार रुपैयाँ, प्रमाणपत्र र अवार्डबाट पुरस्कृत भएका हुन् ।

‘गण्डकी क्षेत्रको ठाडो भाकाः समाज भाषिक अध्ययन’ विषयको अनुसन्धान लेखन एवम् प्रस्तुतीकरणको आधारमा गुरुङले आवार्ड जितेका हुन् ।

‘बहुभाषिक कक्षाकोठमामा सिकाईमा कठिनाई’ विषयबाट घिमिरेले र ‘मैथिलीका शाब्दिक, रूपात्मक तथा वर्णनात्मक प्रेरणार्थक संकेतनः तुलनात्मक अध्ययन’ विषयबाट खोज, लेखन र प्रस्तुतीकरणको आधारमा गर्गले आवार्ड पाएका हुन् ।

हरेक वर्षको अंग्रेजी महिना डिसेम्बर २६ र २७ गते आयोजना गरिने सम्मेलनमा नेपालका दुईजना र नेपाल बाहिरका एकजना भाषा वैज्ञानिकले यो अवार्ड पाउँछन् । यो अवार्ड नेपालको भाषाबारे अध्ययन, अनुसन्धान र लेखनका लागेका भाषा वैज्ञानिकहरूले पाउँछन् ।

डा. समर सिन्हा (सिक्किम विश्वविद्यालयका प्रोफेसर), डा. दानराज रेग्मी र डा. भीमलाल गौतम (त्रिभुवन विश्वविद्यालय) रहेको मूल्याङ्कन समितिले उनीहरूलाई आवार्डका लागि सिफारिस गरेको थियो ।

सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, भारत, जर्मनी, साउदी अरब, पोल्याण्ड, बेलायतलगायत १० देशका भाषा वैज्ञानिकहरूको सहभागिता थियो ।