सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक : प्रचण्ड

फाइल फाेटाे

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि शान्ति प्रक्रियाका बाँकी काम राष्ट्रिय सहमतिबाट पूरा हुने बताए । 

उनले वामपन्थीहरूलाई एकै ठाउँमा ल्याउनका लागि शनिबार नै तीनवटा दलहरुसंग सकारात्मक छलफल भएको जानकारी दिँदै अब एकताको विकल्प नभएको उल्लेख गरे । उनले मुलुकको परिवर्तनको रक्षा र संविधानको ठीक ढंगले कार्यान्वयनका लागि पनि एकताबद्ध हुनुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला निकै जोडबल गरेर शिक्षा विधेयक संसदमा पुर्याएको उल्लेख गर्दै यसलाई पारित गराउन फेरि एकपटक जोड दिनुपर्ने बताए । 

विधेयक अझै पूर्ण नभएको र शिक्षक आन्दोलनका माग समेटेर सशोधित विधेयक संसदको आउँदो अधिवेशनबाट पारित गर्नुपर्ने उनले बताए । त्यसका लागि शिक्षकहरूले  पुनः आन्दोलन गर्ने चेतावनी दिनु सही नै हुने उनले बताए । 

एकता प्रक्रियामा जोडिएका शिक्षकहरुलाई स्वागत गर्दै उनले यसले वृहत् एकता र धुर्वीकरणको बाटो फराकिलो बनाउने बताए । नेपालको राजनीति आन्दोलनमा जागरण पैदा गर्न शिक्षकहरुको ऐतिहासिक भूमिका रहँदै आएको बताए । 

कार्यक्रममा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । यो सङ्गै डा. बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् ।