सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

क्रिकेटप्रेमीकाे मोहः कीर्तिपुरको भीड अचानक भक्तपुरमा

भक्तपुर -  त्यसै पनि प्रत्येक शनिबार भक्तपुर दरबार क्षेत्र आन्तरिक पर्यटकहरूले भरिभराउ भएको हुन्छ ।

त्यसमा पनि विशेष भरिभराउ भयो शनिबार । कारण थियो, नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी पोखरा एभेन्जर्सको टोली भक्तपुर घुम्न आउनु । 

नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलको नेतृत्वमा लिगमा सहभागी विदेशी र स्वदेशी खेलाडीसहितको टोली भक्तपुर भ्रमणमा आएका थिए । टोलीमा २६ जना खेलाडी तथा प्रतिनिधि रहेका थिए । त्यसमा नेपाली खेलाडीसहित भारतीय तथा अन्य विभिन्न मुलुकहरूबाट आएका खेलाडीहरू थिए ।

खेलाडीको टोली साँंझ पाँच बजे भक्तपुर पुगेको थियो । टोलीले भक्तपुर दरबार क्षेत्र र पाँचतले मन्दिर क्षेत्र (ङातापोल) को अवलोकन गरेका थिए । टोलीले झण्डै एक घण्टा अवलोकन भ्रमण गरेका थिए । टोलीलाई दतात्रय स्क्वायरको पनि भ्रमण गराउने योजना भए पनि भक्तपुर दरबार स्क्वायर र पाँचतले मन्दिर क्षेत्र भन्दा अलि पर भएको र समय अभावका कारण दतात्रय क्षेत्रमा लगिएको थिएन । 

टोलीलाई यसअघि भव्य स्वागत गरिएको थियो । बाजागाजाको टोलीले उनीहरुलाई भक्तपुरको दरबार क्षेत्र प्रवेश गर्ने खौमा प्रवेशद्धारमा स्वागत गरिएको थियो । टोलीमा सहभागी खेलाडी र प्राविधिहरु सबैलाई एउटा-एउटा टोपी लगाइदिनुका साथै खादा लगाइदिएर स्वागत गरिएको थियो । सहभागी सम्पूर्ण टोलीको  स्वागतपछि परम्परागत धिमे बाजागाजासहित भक्तपुर परिक्रमा गराइएको थियो ।

परम्परागत धिमे बाजाका साथ नेपाली टोपी लगाएका दर्जनौं नेपाली तथा विदेशी पर्यटकहरू देखेपछि त्यहाँं भीड बढेको थियो । त्यसमाथि नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेललाई देखेपछि धेरैले उनीसँग बसेर फोटो खिचाएका थिए । फोटा खिचाएनन् मात्रै धेरै युवायुवतीहरुले उनको अटोग्राफी पनि लिन भ्याए । कति युवाहरूले त आ-आफनो छातीमा उनको हस्ताक्षर गर्न लगाए । यो क्रम उनी भ्रमण गरेको एक घण्टाको अवधिभर बाटोभरि चलिरह्यो ।   

यसै पनि भक्तपुरमा शनिबार भीड हुन्छ, कार्यक्रममा सहभागी एकजना युवाले भने, क्रिकेटर नेपाली टोपीमा बाजागाजासहित भ्रमणमा आएपछि त हेर्ने आउनेहरूको भीड लाग्ने नै भयो ।  भक्तपुर नगरपालिकाको दावी अनुसार शनिबार एक दिनमा मात्रै एक लाखदेखि डेढ लाख (एक लाख ५० हजार) आन्तरिक पर्यटक भक्तपुर भ्रमणमा आउने गरेका छन् । त्यसका साथमा तथ्यांकै केलाएर हेर्ने हो भने भक्तपुर नगरमा दैनिक एक हजार भन्दा बढी विदेशी पर्यटकहरू पर्यटक शुल्क तिरेर भक्तपुर भ्रमण गर्न आउने गरेको तथ्यांक छ । नगरपालिकाले नगर अवलोकन गर्न आउने विदेशी पर्यटकहरुसँंग प्रवेश शुल्क उठाएर तथ्यांक राख्ने गर्दै आएको छ । 

टोलीका स्वागत तथा भ्रमणमा विभिन्न खेलाडीहरू तथा क्रिकेट खेलप्रति मोह राख्ने सर्वसाधारण पनि उत्तिकै सहभागी थिए । नेपाल भलिबल महासंघका केन्द्रीय कोषाध्यक्ष गौतम सुजखू, नेपाल भलिबल संघ भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिलगायतका दर्जनौं खेलाडीहरू सहभागी थिए । 

पोखरा एभेन्जर्सका प्रोपाइटर मनोबल श्रेष्ठले भक्तपुरले देखाएको मायाप्रति हर्ष प्रकट गरे । साथै आगामी दिनमा पनि आफूहरूलाई यही किसिमको माया पाउने आशा उनले गरे । नेपाल इको प्यानलको निमन्त्रणामा उनीहरू भक्तपुर आएका थिए । टोलीलाई नेपाल इको प्यानललगायतको खेलाडी तथा अन्यले स्वागत गरेको थियो ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर कृष्णभक्त दुवालले भ्रमणको मुख्य उद्देश्य आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव २०८१ को प्रचारप्रसार गर्नु रहेको बताए । “टोलीलाई भक्तपुरका ऐतिहासिक र सांस्कृतिक सम्पदा अवलोकन गराएर सांस्कृतिक नगरी भक्तपुरलाई विश्वसामु चिनाउन सहयोग पुर्याउने हाम्रो उद्देश्य हो,” दुवालले बताए । भक्तपुर महोत्सवको प्रचारप्रसारका साथै नेपाल प्रिमियर लिगमा सहभागी खेलाडीहरूले नेपाल र यसको सांस्कृतिक धरोहरबारे अनुभव सँगाल्ने अवसर प्राप्त गरेको उनको विश्वास छ ।

टोलीको सम्मान रात्रीभोजसमेत भएको थियो । टोलीलाई जुजु धौ (दही) लगायतका परिकार दिएर सम्मान गरिएको थियो ।