आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छः उपप्रधानमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठा पूर्वक लागेको बताएका छन् । ७६ औँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित कार्यक्रममा उनले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताए ।

'राज्य र राजनीतिक शक्तिहरू मानवाधिकार रक्षा गर्न प्रतिबद्ध छन् । सर्वोच्च अदालतका फैसला कार्यान्वयन र सङ्क्रमणकालीन न्यायलाई पीडितमैत्री बनाउनेमा सरकारले ध्यान दिएको छ । आयोगलाई स्वायत्त र सशक्त बनाउन सरकार तत्पर छ,' पौडेलले भने । उनले मानवअधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारमैत्री हुन नसकेका कानुन संशोधन हुनुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीमा गएकाहरूको मानवअधिकार रक्षा संवेदनशील विषय भएकाले त्यसतर्फ सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

संयुक्त राष्ट्रसंघका आवासीय संयोजक (यूएनडीपी) का आवासीय प्रतिनिधि हाना सिङ्गर–हम्डेले कोप २९ मा नेपालले निर्वाह गरेको भूमिका तथा सङ्क्रमणकालीन न्यायका निम्ति गरेका कामको सराहना गरिन् । गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले मौलिक हकमैत्री कानुन बनाउन सरकारको ध्यानाकर्षण गराए ।

मानवअधिकार महाभेला २०२४ का संयोजक भोला भट्टराईले महिला, श्रमिक, किसान, अल्पसङ्ख्यकहरूको मानवअधिकारको रक्षामा जोड दिए । मानवअधिकार आयोगका सदस्य लिली थापाले अन्तर्राष्ट्रियस्तरमा नेपालको मानवअधिकारको अवस्था सन्तोषजनक रहेको बताए ।

सो अवसरमा मानवअधिकार रक्षककको सशक्त भूमिका निर्वाह गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘दयाराम स्मृति पुरस्कार’ प्रदान गरिएको थियो भने वातावरणअधिकार रक्षामा योगदान गरेका धनुषाका लक्ष्मी महतोलाई पनि पुरस्कृत गरिएको थियो । दुवै पुरस्कारको राशि ५० हजार छ ।