आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

खतिवडाले बन्द गराएको उद्योग खुलाउन पौडेललाई आग्रह

काठमाडौं : अघिल्ला अर्थ मन्त्री युवराज खतिवडाले स्वदेशी जलविद्युत् कारखानाले आयात गर्ने कच्चा पदार्थमा भारी कर लगाइदिए । विशेष गरी चीन र भारतबाट आयात हुने तयारी वस्तुलाई भने करमुक्त गराइदिए । यसको असर स्वदेशमा जेनतेन चलिरहेका करिब १० वटा उद्योग बन्द भए । करिब तीन हजारले रोजगारी गुमाए ।

निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाहरुलाई हाइड्रो-मेकानिकल (टर्बाइन, पेनस्टक पाइप आदि) उत्पादन गर्दै आएका स्वदेशी उद्योगहरु यही आर्थिक वर्षको बजेट वक्तव्यमार्फत १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ५ प्रतिशत भन्सार शुल्क खतिवडाले लगाइदिएका थिए ।

तर खतिवडाले चीन र भारतमै निर्मित भएका तयारी पेनस्टक पाइपमा भने उनले १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने बनाइदिए । 

कोभिड-१९ ले त्यसै पनि थला परेका नेपाली उद्योगहरु कर थोपरिएपछि बन्दै हुन पुगे । एक दर्जन यस्ता उद्योगमध्ये मुश्किलले चलेको उद्योग माछापुच्छ्रे मेटल एण्ड मेसिनरी वक्र्स मात्र हो । त्यस्तै सीई हाइड्रो र क्रिम हाइड्रेल एण्ड इन्जिनियरिङ अर्ध क्षमतामा चलेका छन् ।

बन्द भएको धौलागिरी इन्जिनियरिङका अध्यक्ष बलराम केसीका अनुसार पहिला कोभिडले यो उद्योगलाई थिलथिलो पार्‍यो भने अहिले करले । व्यवसायीहरुले रोईकराई गरी १३ प्रतिशत भ्याट लाग्ने निर्णय संशोधन भए पनि आयातीत विदेशी सामानमा कर नलगाएका कारण उद्योग आउन नसकेको केसीले बताए ।

उनले उत्पादनमूलक उद्योगलाई प्रोत्साहित गर्न सरकारसँग अनुरोध गरेको जानकारी दिए । ‘स्वदेशका उद्योग पूर्ण रुपमा सञ्चालन हुन आयातीत पाइपलाई कर लगाउनुपर्‍यो, भ्याट छुट दिनु भएन,’ केसीले आइतबार इकागजसँग भने । 

स्वदेशी उद्योगलाई भन्सार लगाएपछि नेपालमा उत्पादन हुने सामान महँगो पर्न गई प्रतिस्पर्धी हुन नसकेकाले आफूहरु बेवारिसे भएको माछापुच्छ्रे मेटलका सञ्चालक विष्णु पाण्डेले बताए । ‘चीन र भारतबाट हाइड्रो-मेकानिकलका सामानहरु आइरहेका छन्, तिनीहरुलाई कर छूट छ,’ पाण्डेले इकागजसँग आइतबारे भने, ‘स्टीलको पातामा सुविधा दिने र पाइपमा भन्सार लगाउने हो भने स्वदेशी उद्योगलाई राहत पुग्छ, नत्र बन्द गर्नुको विकल्प छैन ।’

अर्थ मन्त्री विष्णु पौडेलले कार्यभार सम्हालेपछि खतिवडाले स्वदेशी उद्योगमा लगाएको कर हटाएका थिए । 

कोभिड १९ र करअघि स्वदेशमा वार्षिक दुई अर्ब रुपैयाँको पेनस्टक पाइपलगायत हाइड्रो-मेकानिकलको कारोबार हुन्थ्यो ।