सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

यतीको आहारा बन्दै नेपाल वायुसेवा निगम

पञ्चायतकालदेखि भ्रष्टाचारको अखडा बनेको नेपाल वायुसेवा निगममा जुनसुकै दलको सरकार आए पनि यो संस्था ध्वस्त पार्ने ध्याउन्‍न निरन्तर छ । पञ्चायतकालमा अनगन्ती काण्डको फेहरिस्त बोक्यो भने बहुदलीय कालखण्डमा पनि । लाउडा, धमिजा, चेज एयर, चिनियाँ जहाज, न्यारोबडी र वाइडबीजस्ता काण्ड पटक पटक दोहोरिरहनु निगमको नियति बन्यो ।

नेताहरूले तीन पुस्तालाई पुग्‍ने गरी कमाउने उपयुक्त थलोका रूपमा उपयोग हुँदै आएको छ । राजनीतिक दलका नेताहरूको आडमा एक व्यक्ति कसरी हाबी हुन्छन् र तिनले कसरी संस्था लुट्न सक्दोरहेछ भन्‍ने तथ्यसहित राष्ट्रिय सतर्कता केन्द्रले हालसालै गरेको अनुसन्धानले देखाएको छ ।

सबैभन्दा कनिष्ठ व्यक्तिलाई फ्लाइट अपरेसन विभागको निर्देशकमा नियुक्ति गरिन्छ । यसरी नियुक्त गरिएका दिपुराज जुहार्चनले कसरी लुट मच्चाएका रहेछन् भन्‍ने केन्द्रको उक्त अध्ययनले देखाएको छ । निश्चय पनि निगममा एक व्यक्ति यसरी हाबी भई तलदेखि माथिसम्म र भ्याएसम्म लुट मच्चाउँदा पनि निगम व्यवस्थापनको साथ र सहमति पाइरहनु भनेको लुटको संस्थगत अवतार नै हो ।

क्याबिन क्रुहरूलाई वासका लागि होटल भाडामा लिँदा जुहार्चनले विनाप्रतिस्पर्धा वार्ताका आधारमा छनौट गरी निगमलाई ६ करोड घाटा पारे । कोभिड १९ ले सारा विश्वमा आपत्कालीनबाहेक अन्य हवाई उडान बन्द भएका बेला जहाज उडाएको देखाएर विदेशी पाइलटका नाममा १० करोड रुपैयाँ यिनै जुहार्चनले खर्च गराए । सात दिनका लागि विदेशमा तालिम पठाउँदा १२ दिन भनी त्यसअनुसार भत्ता खुवाए । यी र यस्ता एक दर्जन घटनालाई समेटेर सतर्कता केन्द्रले आफ्नो धर्म निर्वाह गरेको छ । उसले आफ्नो राय सिफारिससहितको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हिजो मात्रै बुझाएको छ ।

निगम सञ्चालक समितिको सात सदस्यीय बोर्डमा चारजना यती समूह निकटका छन् र यतीलाई फाइदा पुग्‍ने अनि निगमलाई घाटा पुग्‍ने हिसाबले नीतिगत निर्णय हुँदै आएको छ ।

अब आयोगले यी तथ्यलाई थप अनुसन्धान गरी मुद्दा दायर गरेमा मात्र सतर्कता केन्द्रको मेहनत, मुलुकप्रतिको इमानदारी र आफ्नो कर्तव्य पालनाले सार्थकता पाउँछ । होइन भने निगमका अनियमिततासम्बन्धी र काण्डै काण्डका अध्ययन-अनुसन्धान प्रतिवेदनहरू थन्किने रोग यो प्रकरणमा पनि नसरोस् । जुहार्चन एउटा प्रतिनिधिमूलक पात्र हुन् । उनलाई यती समूहको साथ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको व्यक्तिलाई त्यही प्राधिकरणले कसरी बढुवा गर्‍यो भन्‍ने तथ्य छर्लंग छ । 

निगममा जति पनि भ्रष्टाचार हुन्छन्, तिनका छानबिन भएका छन् । चाहे त्यो संसदीय समिति होस्, सतर्कता केन्द्र होस् वा सरकारी अन्य निकाय नै । वाइडबडी जहाजमा दिनदहाडै मुलुक लुटिएको जगजाहेर छ । संसद्को सार्वजनिक लेखा समितिले अध्ययन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठायो । आयोगले त्यसले कुखुराको पोथी अण्डा छोपेजस्तो ढाकेर बसिदियो । अख्तियारमा नियुक्त पात्र प्रधानमन्त्रीप्रति बफादार थियो र छ ।

प्रधानमन्त्रीको इसारामा संवैधानिक आयोग कर्तव्यच्युत हुँदै आएको घामजत्तिकै छर्लंग छ । निगमलाई व्यावसायिक रूपमा सञ्चालन गर्न दिने हो एक वर्षमै नाफामा जान सक्छ । तर निगमलाई धराशयी पारी यती समूहलाई जगाउने सरकारको ध्येय देखिन्छ । निगम सञ्चालक समितिको सात सदस्यीय बोर्डमा चारजना यती समूह निकटका छन् र यतीलाई फाइदा पुग्ने अनि निगमलाई घाटा पुग्ने हिसाबले नीतिगत निर्णय हुँदै आएको छ ।

निगम सञ्चालक समितिमा पर्यटन मन्त्रालयको प्रतिनिधित्व गर्दै एकजना सहसचिव सदस्य छन् । ती सदस्य कोभिड रोकथाम तथा नियन्त्रणसम्बन्धी सरकारी संयन्त्र सीएमसीसीमा पनि छन् । जति पनि चाटर्ड उडान भए ती सहसचिवले सबै यती एयरलाइन्सलाई दिलाएर निगमलाई व्यापार गर्न दिएनन् । यी जुहार्चन पनि यती निकटका हुन् । यती समूहको आड पाएकै कारण अयोग्य भए पनि, गैरकानुनी भए पनि जस्तोसुकै अनैतिक कार्य गर्दा पनि यिनलाई माथिबाट आशीर्वाद प्राप्त भइरहेको अवस्था छ । 

अब सतर्कता केन्द्रले त पठायो, तर आयोगले थप अनुसन्धान गरी मुद्दा दायर गर्छ कि गर्दैन् भन्‍ने शंका यथावत छ । किनभने वाइडबडीजस्ता जघन्य आर्थिक अपराधीलाई आयोगले सुनपानी छर्केर बस्यो । संसद्को लेखा समितिलाई टेरेन भने सतर्कता केन्द्रको सिफारिस कार्यान्वयन होला र ? शंका यथावत छ । ठूला र शक्तिशाली वर्ग जोडिएका अरु प्रकरणलाई ढाकछोप गरिए जसरी नै योे फाइलले पनि त्यही नियत खेप्‍नु नपरोस् ।