बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

संसद्‌मा विचाराधीन विधेयकबारे विपक्षी दलसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ- सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलले संसद्‌मा विचाराधीन विधेयकबारे विपक्षी दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । दुई दल नेकपा एमाले र नेपाली काँग्रेस सम्मिलित कार्यदलको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘संसद्‌मा विचाराधीन विधेयकबारे विपक्षी दलहरूसँग छलफल गर्ने निर्णय गरेका छौँ,’ बैठकबारे जानकारी दिँदै काँग्रेस सांसद जीवन परियारले भने । उनका अनुसार विपक्षी दलसँग छलफलका लागि मुख्य जिम्मेवारी काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलालाई दिइएको छ ।

कार्यदलको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल, नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, एमाले सांसद योगेश भट्टराई, काँग्रेस सांसद जीवन परियार, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने लगायत सहभागी थिए ।