राष्ट्रियसभामा हिजो गम्भीर विषय उठेका थिए तर ‘बाँदर’ मात्र उफ्रेको छ

बाँदरहरूको आफ्नो देश हुँदैन
बाँदरहरूको निश्चित भेष हुँदैन
छेपाराजस्ता मौसमी रङ बदल्ने
बाँदरहरूको स्थायी परिवेश हुँदैन
-२१ असार २०७८, कोमल वली, राष्ट्रिय सभा, विशेष समय
सांसद खिम विश्वकर्माले राष्ट्रिय सभामा सम्बोधन गरिरहेका थिए, तर आवाज आइरहेको थिएन । पाँच मिनेट समय सकिएछ । सोमबार राष्ट्रिय सभा आठौँ अधिवेशनको तेस्रो बैठक बस्यो ।
बैठकको विशेष समयमा ११ सांसदले ८७ मिनेट बोल्ने कार्यसूची थियो । बैठकको कुल १ घण्टा २७ मिनेटको समयमा विश्वकर्माका कुरा सुन्न ५ मिनेट समय छुट्याइको थियो । तर, उनका कुरा नसकिँदै समय सकियो । र, माइक बन्द गरियो । त्यसपछि सभाकी उपाध्यक्ष शशिकला दाहालले भनिन्, ‘माननीय कोमल वली, समय १० मिनेट ।’
वलीले भारतीय पूर्वराष्ट्रपति तथा वैज्ञानिक अब्दुल कलामको भनाइबाट आफ्नो सम्बोधन सुरु गरिन् । उनले देशभक्तिको कुरा गरिन्, नेपाली स्वाभिमानको कुरा गरिन्, वैदेशिक रोजगारीको पीडा र सरकारको विरोध गर्नेहरूको विरोधमा समेत आफ्ना भनाइ रेकर्ड गराइन् । अन्त्यमा सांसद वलीले कविता सुनाइन् ।
राष्ट्रिय सभालाई संघीय संसद्को माथिल्लो सदन पनि भनिन्छ । सबै क्षेत्रका विज्ञ सुझावका लागि राखिने थलोका रुपमा समेत यसलाई चिनिन्छ । यहाँ कुल ५९ सदस्य हुन्छन् । जसमध्ये हरेक प्रदेशबाट ८–८ र ३ मनोनित हुन्छन् । सबैको काम कानुन निर्माण प्रक्रियामा सहयोग गर्ने र आम नागरिकका मुद्दा उठाउने नै हो ।
सोमबारको बैठकमा सांसद वलीले बाँदरकोे कविता पनि सुनाइन् । सदनमा उनले कविता सुनाउनु ठूलो कुरा होइन, त्यही कविताले बहस छेडिदिनु ठूलो कुरा भयो । पछिल्लो समय सामाजिक सञ्जालमा कवितामाथि पक्ष–विपक्ष भएर बहस चलिरहेका छन् ।
पितासमान नेताहरूलाई ‘बाँदर र छेपारा’ भन्ने भन्दै पत्रकार किशोर श्रेष्ठले फेसबुकमा वलीको फोटो राख्दै व्यक्तिगत विषयसमेत प्रवेश उठाएका छन् । प्रेस काउन्सिलको उच्च पदमा आसीन भइसकेका उनको प्रतिक्रिया विषयान्तर गर्ने खालको मात्र छैन, गाली-गलौजकै स्तरको छ । लेखेर होस् वा बोलेर महिलाका विषयमा निरन्तर आवाज उठाउने अमृता लम्सालले श्रेष्ठको भनाइ बाँड्दै ‘तर्क नगरेर कसैको चरित्रमाथि औँला उठाउन नपाइने’ भनेर लेखेकी छन् ।
सदनमा बाँदरको कविताबाहेक अरु थुप्रै महत्वपूर्ण विषय पनि उठेका थिए । हामीले ती गम्भीर विषयलाई बहसमा ल्याउन किन खोजेनौँ ? जहिल्यै सतही र सनसनीपूर्ण कुरामा हाम्रो चासो किन ?
सतही कुराको अति आलोचना पनि एकप्रकारले प्रचार हो । र, खराब प्रसंगको आलोचना गरिरहँदा सही प्रसंग छोपिनुहुन्न । वलीले कविता भनेकै सदनमा सांसद डा. विमला राई पौड्यालले खोपको विषय उठाइन्, अपाङ्गता र अशक्त मानिसको विषय उठाइन् । खोइ यो विषयमा खासै चर्चा र बहस भएन ।
सोमबार माथिल्लो सदन सुरु भएसँगै सांसद देवेन्द्र दाहालले ताजा जनादेशमा जाने सरकारको कदमबारे बहस गरे । सरकारको बचाउ गर्दै विपक्षीलाई कटाक्षसमेत गरे । उनले भने, ‘विपक्षीहरू कसैसँग पनि जनतासँग जाने हिम्मत देखिएको छैन ।’
त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीको सरकारलाई सदनबाटै विरोध गर्ने शैली त झन् रोचक नै थियो । यो शैली संसदीय व्यवस्थाको इतिहासमा लेखिने किस्सामध्ये एउटा किस्सा बन्न योग्य छ ।
सांसद रायमाझीले कालो रङको आफ्नो टोपी देखाउँदै सरकारको विरोध गरेका थिए । सदनमा निषेध रहेको कालो झण्डाको प्रतीक स्वरूप उनले सदनलाई कालो क्याप देखाएका थिए । कालो क्याप देखाउँदै उनले भने, ‘ सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमको विरोधमा सदनले थाहा पाओस् भनेर कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु ।’
माओवादी सांसद नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई निरंकुश र प्रतिगमनको संज्ञा दिए । प्रधानमन्त्रीलाई उनले कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै प्रतिगमनको सपना नदेख्न चेतावनीसमेत दिए । उनले भने, ‘म चेतावनी दिन चाहन्छु । त्यो कहिल्यै पुग्ने पनि छैन । त्यस्तो सपना कसैले नदेखे हुन्छ । हामी प्रतिगमनलाई हरहालतमा परास्त गरी छाड्नेछौँ ।’
त्यस्तै जनता समाजवादी पार्टीका सांसद मृगेन्द्रकुमार सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओेलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरूले छलछाम र जालझेल गर्न थालेको आरोप लगाए ।
अर्कोतिर राष्ट्रिय सभा सदस्यका रुपमा निर्वाचित भएपछि पहिलोपटक सदनमा सम्बोधन गरेका सांसद डा. खिमलाल देवकोटाले मन्त्रालयहरूले पनि नेपालको पुरानै नक्सा प्रयोग गरिरहेको तथ्य उजागर गरे । सरकारले चुच्चे नक्सा जारी गरेपछि पनि सरकारले नै पुरानो नक्सा प्रयोग गर्दै आएको भन्ने विषय गम्भीर थिएन र ?
राष्ट्रिय सभामा बोलिएका प्रत्येक शब्द सयौँ वर्षसम्म संग्रह गएर राखिन्छ । सदनमा उठ्ने यस्ता कुराहरू आजको समयको प्रतिविम्ब त हुँदै हुन्, भोलिका लागि थप अध्ययनका विषय पनि । त्यसैले खास मुद्दामाथि आफ्ना भानाइ जसरी राखे पनि हुन्छ तर आम चर्चाका लागि सस्ता र सतही विषय उठाइरहनु आफू उभिएको ठाउँको अपमान नै हो ।
माथिका तथ्यहरूले प्रस्टै देखाउँछन्, राष्ट्रिय सभामा ‘बाँदरको कविता’ मात्र भनिएको छैन । गम्भीर खालका विषयवस्तु पनि उठेका छन् र हाम्रा समस्याबारे पनि बोलिएको छ, तर मिडिया-सोसल मिडिया हेर्दा ‘बाँदर’ मात्र उफ्रिरहेको छ । आममानिसले ‘कोभिडविरुद्धको खोप’भन्दा ‘बाँदरको कविता’मा धेरै रुचि राखेको देखियो । तर, यस्तो रुचि निर्माण गर्न हामी पनि उत्तिकै जिम्मेवार छौँ ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया