मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान

फाइल फोटो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको जनाएको हो ।

चालू आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको र यो गत वर्षको तुलनामा ४.०४ प्रतिशतले बढी रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

धान बाली लगाइएको क्षेत्रफल घटेको भए पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ । ‘बर्खे र चैते दुवै गरी चालू आवमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान छ । जुन गत आवको तुलनामा १.२८ प्रतिशतले कमी हो,’ मन्त्रालयले भनेको छ, ‘औसत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रतिहेक्टर पुगी हालसम्मको उच्च विन्दु कायम भएको छ ।’

चालू आर्थिक वर्षमा मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय हुन पुगेको र पर्याप्त वर्षा हुँदा उत्पादन बढेको जनाइएको छ । यस्तै, किसानले समयमा रासायनिक मल र उन्नत जातको बिउ पाएका कारण पनि उत्पादन बढेको मन्त्रालयको दाबी छ ।

प्रदेशगत रूपमा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्वि भएको छ भने बाँकी तीन प्रदेशमा कमी आएको छ । रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा घटेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।

यस्तै, नवलपरासी (पूर्व) को केही भागमा बर्खे धानको बाला नलाग्ने समस्या देखिँदा उत्पादनमा कमी आएको र लमजुङ जिल्लामा धान बाली लगाइएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धान बाली भित्र्याइएको क्षेत्रफलमा कमी आई उत्पादनमा कमी हुन पुगेको जनाइएको छ । रासस