शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा

अमेरिकासहित विश्वका २५ देशहरुमा हुँदै आएको डान्सको चर्चित स्टेज वर्ल्ड अफ डान्स (डब्लु.ओ.डी.) अब नेपालमा आयोजना हुने भएको छ ।  नृत्यमा भविष्य खोज्नेहरूका लागि उत्कृष्ट मानिने यस स्टेजको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्र्याएको हो ।

वर्ल्ड अफ डान्स नेपाल आगामी माघ २४ गते बिहीबार हुने आयोजकले जनाएको छ । आज (आइतबार) पत्रकार सम्मेलन गरी जुरी टिम, ट्रफिसँगै विजेताले पाउने पुरस्कार लगायतका विषयमा जानकारी गराइयो । 

यसमा देशैभरिबाट आवेदन परेका डान्सरहरुले विभिन्न चरण पारगर्दै विजेता बन्नेछन् । अहिलेसम्म डिजिटल अडिसनबाट तीनसय बढीको आवेदन परेको र छनौटको काम भइरहेको आयोजकले जनाएको छ । यो रियालिटी शो नभई एक डान्स कम्पिटिसन शो हो । जसमा डिजिटल, फिजिकल अडिसन पार गर्दै विजेता छनौट गरिनेछ । विजेता टिमले अमेरिकामा यही २०२५ जुलाई १६ देखी जुलाई २१ सम्म आयोजना हुने वर्ल्ड अफ डान्समा सहभागी जनाउन पाउनेछन् । जसमा २५ देशका विजेताहरूबिच प्रतिस्पर्धा हुनेछ ।

यसमा सहभागी हुने टिमहरूलाई तीन डिभिजनमा राखिएको छ । पहिलो अपर टिम डिभिजन, यसमा जुनसुकै उमेर समूहका डान्सरले सहभागी लिन पाउनेछन् । साथै यसमा एकजना, दुईजना, तीनजना अथवा चारजनासम्मको एक टिम बनेर डान्स गर्न पाउनेछन् । दोस्रो सिनिअर टिम डिभिजन, यसमा १८ वर्ष भन्दा बढी उमेरका डान्सरले सहभागी हुन पाउनेछन् । तेस्रो जुनिअर टिम डिभिजन, यसमा १८ वा १८ वर्ष भन्दा मुनिका डान्सरहरुले सहभागी हुन पाउनेछन् । सहभागी तीन डिभिजनकै विजेताले एक÷एक लाख नगद पुरस्कार पाउनेछन् ।

यस्तै अमेरिकामा हुने डब्लु.ओ.डीमा भने सिनिअर र जुनिअर टिम डिभिजनमा बिजेतासँगै दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले पनि सहभागी जनाउन पाउनेछ ।

सिनिअर टिम डिभिजन र सुनिअर टिम डिभिजनले मात्र अमेरिकामा हुने डब्लु.ओ.डी.मा सहभागी हुन पाउने पाउने प्रावधान रहेको शोका नेशनल डिरेक्टर रोशन गहतराजले जानकारी दिए । 

आयोजक कम्पनी मण्डला इन्टरटेनमेन्टलेकी सिईओ सजिना तामाङले नेपालमा डब्लु.ओ.डी.जस्तो प्रतिष्ठित शोलाई नेपाल भित्राउन पाउँदा खुसी लागेको बताइन् । उनले नेपालबाट राम्रो डान्सर विश्वको ठुलो प्लेटफर्ममा पुगेर नेपाललाई चिनाउन लागेको भन्दै सम्पूर्ण प्रतियोगीहरूलाई शुभकामना दिइन् । शोको जुरी टिममा निशान गौचन, जेडी तमु र मुकेश ढकाल रहेका छन् । 

शोको इभेन्ट कन्सल्टेन्टको रूपमा अभिनेता प्रशान्त ताम्राकार रहेका छन् । प्रशान्तले पनि डान्सरहरुका लागी नेपालमा बल्ल उपयुक्त स्टेज आएको भन्दै सहभागीहरूलाई शुभकामना दिए ।